मासुमा लापर्बाही : ससेजमा प्राणघातक सोडियम नाइट्रेट भेटियो, मरेका कुखुराका मासु पनि बिक्री

काठमाडौं, २९ जेठ । काठमाडौं उपत्यकामा प्राणघातक विषादी मिसाइएको मासु र मासुबाट बनाइएका परिकार बिक्री वितरण भइरहेको पाइएको छ । नांगो हातले समेत छुन नमिल्ने सोडियम नाइट्रेट नामक विषादी मासुमा मिसाइएको भेटिएको हो ।

आपूर्ति मन्त्रालयमातहतको आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले गरेको विशेष अनुगमनका क्रममा यो तथ्य बाहिर आएको हो । आजको राजधानी दैनिकमा यो खबर छ ।

मासु र मासुजन्य परिकारमा यस्तो प्राणघातक विषादी मिसाइएको तथ्य बाहिर आएपछि चिकित्सकहरुले उपभोक्ताको स्वास्थ्यमा पर्ने अवस्थाप्रति गम्भीर चिन्ता र चासो व्यक्त गरेका छन् ।

अनुगमन टोलीमा रहेका चिकित्सक डा. आभास पौडेलका अनुसार, मासुमा सोडियम नाइट्रेट मिसाउनु भनेको उपभोक्ताको स्वास्थ्यमाथिको हदैसम्मको लापर्बाही हो । यसलाई कुनै पनि हालतमा सामान्य मान्न सकिन्न ।

अनुगमनका क्रममा बाँनियाटारको सगरमाथा मिट प्रोडक्सनले सोडियम नाइट्रेट नामक विषादी मिसाएको पाइएको हो । त्यहाँ भेटिएको सो रसायनको बट्टामा नै भयंकर प्राणघातक भनेर लेखिएको छ । त्यसमा नाङ्गो हातले छुनु पनि भयंकर घातक भनेर उल्लेख गरिएको छ ।

‘यी हेर्नुहोस्, रसायनको बट्टामा नै खतराको संकेत दिइएको छ । नांगो हातले समेत छुन नमिल्ने लेखिएको छ । यस्तो रसायन मासुमा मिसाइएको छ, यो उपभोक्ताको स्वास्थ्यमाथि हदैसम्मको लापर्बाही हो,’ डा. पौडेलले विषादीको बोतल देखाउँदै भने ।

सो मिट प्रोडक्टले ससेजमा प्राणघातक सोडियम नाइट्रेट मिसाउने गरेको पाइएको छ । सोडियम नाइट्रेटले ससेजलाई लामो समयसम्म दुरुस्त राख्न सघाउने भएकाले पाँच किलो ससेजमा सय ग्राम मिसाउने गरेको व्यवसायीले स्वीकार गरेका छन् ।

अनुगमन टोलीका अनुसार सगरमाथा मिट प्रोडक्सनले ससेज बनाउँदा कुहिएको मासु प्रयोग गर्ने गरेको, लेबल नै नभएका मसला प्रयोग गरिएको, खाद्य अनुज्ञा पत्र नलिएको, सोयाविन मस्यौरा प्रयोग गरी ससेज बनाएको र उत्पादन स्थल अत्यन्त फोहोर रहेको भेटिएको थियो ।

यस्तो कैफियत भेटिएपछि सो मिट प्रोडक्सनमा सिलबन्दी गरिएको छ । त्यहाँबाट सोडियम नाइट्रेट नामक रसायनको एक बट्टा, गन्हाएको (कुहिएको) मासु २ सय ग्राम र ४ सय ८० ग्रामका एक एक प्याकेट बफ ससेज र चिकेन ससेज नमुना परीक्षणका लागि ल्याइएको छ ।

विभागले आइतबार नै गोगंबुको केसी चिकेन स्टोर, मनकामना मार्केटिङ स्टोरमा पनि अनुगमन गरेको थियो । केसी चिकेन स्टोरले खाद्य अनुज्ञापत्र नलिई करोबार गरिरहेको र मरिसकेको कुखुराको मासु बिक्री गर्ने गरेको पाइएको छ । सो स्टोरबाट मरिसकेका कुखुराको ११ किलो मासु नष्ट गरिएको छ । अनुगमन टोलीले केसी चिकेन स्टोरमा पनि सिलबन्दी गरेको छ ।

मनकामना मार्केटिङ स्टोर अत्यन्त फाहोर रहेको, त्यहाँबाट खान अयोग्य ५ किलो मासु नष्ट गरिएको अनुगमन टोलीले जनाएको छ ।

राष्ट्रि उपभोक्ता अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमल्सिनाले मरिसकेको कुखुराको मासु विक्री वितरण गर्नु आम उपभोक्ताको जीवनमाथि सोझै खेलवाड भएको बताए ।

जेठ २९, २०७४ मा प्रकाशित

 

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*