मिथिलाञ्चलमा यात्रा (जतरा) पर्व : डोलामा आउने भगवतीको कुखुरामा बिदाइ

जनकपुरधाम, १४ असोज ।

बडादशैँअन्तर्गत आज मिथिलाञ्चलमा यात्रा पर्व मनाइँदैछ । यात्रा पर्वलाई मिथिलाञ्चलमा जतरा पर्व पनि भनिन्छ ।

धार्मिक मान्यताअनुसार आजका दिन भगवती दुर्गाको यात्रा हुने भएकाले यसलाई वर्षभरिकै सबैभन्दा पवित्र दिन मानिन्छ । मिथिला, बंगाल र आसाममा भगवती दुर्गा नौ दिनसम्म माइती आउने र दशमीका दिन बिदा भई ससुराली जाने मान्यताका साथ माटोको दुर्गाको प्रतिमा बनाई पूजा गरिने स्थानमा दुबो, धान, सुपारी र बेसारले खोइँछ भरेर यात्राका दिन भगवती दुर्गालाई बिदाइ ९बिसर्जन० गरिने चलन छ ।

पण्डित मिथिलेश ठाकुरका अनुसार मिथिला, बंगाल र आसामको मान्यताअनुसार यसपटक भगवती दुर्गाको आगमन डोलामा र बिदाइ कुखुरामा रहेको छ ।

आजका दिन दशवटै द्वार खुल्ला रहने मान्यताअनुसार कुनै पनि शुभकार्य गर्न प्रशस्त मानिन्छ । यस दिन जुनसुकै दिशातर्फ यात्रा गर्दा मुहुत्र्तको विचार गरिरहनु नपर्ने भनिन्छ ।

यात्राका दिन भगवतीको प्रसादस्वरूप जयन्ती धारण गर्ने तथा पुरोहितले यजवानलाई जयन्ती लगाएर आशीर्वाद प्रदान गर्ने चलन छ । यस दिन नीलकण्ठ चराको दर्शन शुभ मानिन्छ । यसका लागि नीलकण्ठ चराको गुँड रहेको रूखलाई पहिलै नै ठम्याएर राखिने गरिन्छ ।

यात्राका दिन आस्थावान् कागज, कलम लिएर नीलकण्ठ चरालाई उडाएर दर्शन गरी त्यस स्थानमा केही श्लोक कागजमा लेख्ने परम्परा पनि छ । रासस

  शनिबार, असोज १४, २०७४ मा प्रकाशित

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*