मुख्यमन्त्रीको तलब ६४ हजार, थप सुविधा यस्ता

काठमाडौं, २८ असोज ।

प्रदेश प्रमुखहरूले मासिक ६४ हजार तलब पाउने भएका छन् भने मासिक रूपमा ४० हजार अतिथि सत्कारको लागि पाउने छन् ।

व्यवस्थापिका संसदको शुक्रबारको बैठकले प्रदेश प्रमुखको पारिश्रमिक तथा सुविधासम्बन्धी विधेयक बहुमतले पारित गरेको हो ।

विधेयकअनुसार, प्रदेश प्रमुखलाई सरकारी आवास र गाडी तथा सचिवालयसहितको सुविधा दिइएको छ ।

मासिक ६४ हजार पारिश्रमिक, ४० हजार अतिथि सत्कार खर्च र वार्षिक १८ हजार रुपैयाँ पोसाक भत्ता पाउने व्यवस्था गरिएको छ ।

त्यस्तै, प्रदेश प्रमुखलाई १५ लाखको बीमा सुविधा दिइएको छ भने, भ्रमण भत्तामा स्वदेशभित्र दैनिक तीन हजार रुपैयाँ र विदेशमा तीन सय अमेरिकी डलर दिने व्यवस्था गरिएको छ ।

प्रदेश प्रमुखले एक दर्जन कर्मचारीसहितको सचिवालय राख्न पाउने छन् यस अतिरिक्त निजी चिकित्सक तथा विज्ञ पनि नियुक्त गर्न पाउने छन् । –नेपाल समाचारपत्र

शनिबार, असोज २८, २०७४ मा प्रकाशित

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*