मेसीको ह्याट्रिकसँगै अर्जेन्टिना विश्वकप २०१८ मा छनोट, नेदरल्याण्ड्स भएन

मेसीले बनाए छनोट चरणमा सर्वाधिक गोलकर्ताको रेकर्ड

इक्वेडर, २५ असोज ।

विश्व कप फुटबल २०१८ का लागि दक्षिण् अमेरिकी छनोट अन्तर्गत मंगलबार राती (नेपाली समय बुधबार बिहान) इक्वेडरविरुद्ध लियोनल मेसीको ह्याट्रिकसँगै अर्जेन्टिना विश्वकप २०१८ का लागि छनोट भएको छ।

इक्वेडरविरूद्ध मेसीले निश्चित अन्तरालमा तीन गोल हानेर रसियामा हुने आगामी विश्वकपमा अर्जेटिनाको सिट सुरक्षित गराएका हुन्।

खेलको सुरुमा इक्वेडरका रोमारियो इबोराले अर्जेन्टिनाविरूद्ध पहिलो गोल गरेका थिए। त्यसपछि मेसीले खेलको १२औं मिनेटमा पहिलो गोल फर्काएका थिए भने खेलको २०औं मिनेटमा उनले दोस्रो गोल गरे।

दोस्रो हाफको ६२ औं मिनेटमा मेसीले तेस्रो गोल गर्दै इक्वेडरविरूद्ध ह्याट्रिक गरे। मेसीको ह्याट्रिकसँग घरेलु मैदानमा खेलेको इक्वेडरले हार ब्यहार्नु पर्यो।

मेसीले यो खेलमा ह्याट्रिक गरेर अर्जेन्टिनालाई विश्वकपमा मात्र पुर्याएनन् छनोट चरणमा सबैभन्दा बढी गोल गर्ने रेकर्ड पनि बनाएका छन्।

विश्वकप छनौटका ४५ खेल खेलेका मेसीले २१ गोल गरेका छन्। विश्वकप छनोट खेलेका खेलाडीले गरेको यो अहिलेसम्मकै सबैभन्दा बढी गोल हो।

युरोपियन च्याम्पियन पोर्चुगलले स्वीटजरल्याण्डलाई पराजित गर्दै सन् २०१८ को विश्वकपका लागि छनौट भएको छ ।

स्वीटजरल्याण्डविरुद्ध २–० को जीत निकाल्दै युरोपियन छनौटको समूह बीको विजेताको रुपमा पोर्चुगलले विश्वकपमा स्थान सुरक्षित गरेको हो ।

खेलमा बराबरी वा हार गरेको भए पोर्चुगल प्लेअफ खेल्न बाध्य हुन्थ्यो । तर, जोहान जोरोउको आत्मघाती गोल तथा आन्द्रे सिल्भाको गोलको मद्दतले पोर्चुगल विजयी भएको थियो ।

उता, फ्रान्सले बेलारुसलाई २–१ गोलअन्तरले हराउँदै समूह एको विजेता बन्दै विश्वकपमा प्रवेश गरेको छ ।

नेदरल्याण्डसँग २–० गोलअन्तरले पराजित भए पनि स्वीडेनले प्लेअफका लागि स्थान बनाएको छ ।

सन् २०१४ को विश्वकपमा तेस्रो भएको नेदरल्याण्ड भने विश्वकप खेल्नबाट बञ्चित बनेको छ ।

arjen_robben-holland

विश्वपमा छनौट हुनका लागि हिजोको खेलमा डच टोलीले स्वीडेनलाई ७–० गोलअन्तरले पराजित गर्नुपर्ने थियो ।

आयर्न रोबेनले पहिलो हाफमा दुई गोल गरे पनि त्यो पर्याप्त भएन ।

समूह एचमा ग्रीसले गिब्राल्टारलाई ४–० गोलअन्तरले पराजित गर्दै प्लेअफमा आफ्नो स्थान सुरक्षित गर्यो ।

समूहबाट यसअघि नै छनौट भइसकेको बेल्जियमले साइप्रसलाई ४–० गोलअन्तरले पराजित गर्यो ।

युरोपबाट हालसम्म फ्रान्स, पोर्चुगल, जर्मनी, सर्बिया, पोल्याण्ड, इंग्ल्याण्ड, स्पेन, बेल्जियम र आइसल्याण्ड विश्वकपमा छनौट भएको छ ।

त्यस्तै, युरोपबाट बाँकी चार स्थानका लागि स्वीडेन, स्वीटजरल्याण्ड, उत्तरी आयरल्याण्ड, रिपब्लिक अफ आयरल्याण्ड, डेनमार्क, इटाली, ग्रिस र क्रोएसियाले प्लेअफ खेल खेल्नेछन् । (एजेन्सी)

      बुधबार, असोज २५, २०७४ मा प्रकाशित

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*