यी ‘हेवीवेट’ जसले निर्वाचनमा हारे

काठमाडौं, २४ मंसिर ।

प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा उपप्रधानमन्त्री एवं गृहमन्त्री तथा पार्टीमा प्रभाव राख्ने अनेक शीर्षस्थ नेताहरु नै पराजित भएका छन् ।

नेपाली काँग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) का दोस्रो तहका नेताको पराजय भएको छ । काँग्रेसका वरिष्ठ नेता एवं पूर्वउपसभापति रामचन्द्र पौडेल, एमाले उपाध्यक्ष वामदेव गौतम, माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठको पराजयलाई संयोगको रुपमा लिइएको छ ।

वर्तमान सरकारका उपप्रधानमन्त्री समेत रहेका कमल थापा मकवानपुरबाट पराजित भएका छन् । उनलाई नेकपा (एमाले) का कृष्णप्रसाद दाहालले पराजित गरे । मकवानपुर क्षेत्र नं १ को प्रतिनिधिसभाका लागि भएको निर्वाचनमा दाहालले ४० हजार ६३१ मत ल्याउँदा उनका प्रतिस्पर्धी समेत रहेका उपप्रधानमन्त्री एवं ऊर्जामन्त्री थापाले ३४ हजार ६५८ मत प्राप्त गरे ।

निर्वाचन अगाडि हेटौँडा बजारबाट पूर्व–पश्चिम राजमार्गलाई बाहिर सार्ने निर्णय गरे पनि थापालाई मतदाताले भने न्याय गरेनन् । बूढीगण्डकी जलविद्युत् आयोजना स्वदेशी लगानीमा निर्माण गर्ने जस्ता निर्णयमा संलग्न भएका उपप्रधानमन्त्री थापाको विजय यात्रामा एमाले नेता दाहालले पूर्णविराम लगाइदिए ।

यस्तै पूर्व उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधि राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोसँग पराजित हुनुपुगे । राजपा अध्यक्ष मण्डलका सदस्य महतोले निधिलाई झण्डै तीन हजार मतान्तरले पराजित गरे । उनले ३० हजार ७४२ मत प्राप्त गरे । निकटतम प्रतिद्वन्द्वी निधिले २७ हजार ८२८ मत पाए ।

यस्तै पूर्वसभामुख, पूर्वउपप्रधानमन्त्री एवं नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पनि एमाले उम्मेदवारसँग पराजित हुनुपर्यो । विसं २०७० सालको चुनावमा पौडेलले किसनकुमार श्रेष्ठलाई पराजित गरेका थिए । अन्तिम मतपरिणामअनुसार उनै श्रेष्ठले ३४ हजार ४८९ मत पाउँदा पौडेलले २७ हजार ६ सय ७५ मतमा चित्त बुझाउनुपर्यो ।

वाम गठबन्धनका सूत्रधारसमेत रहेका नेकपा (माओवादी केन्द्र) का नेता एवं पूर्व उपप्रधान एवं गृहमन्त्री श्रेष्ठ आफ्नै पूर्वसहकर्मी डा बाबुराम भट्टराईबाट पराजित हुनुपर्यो । यस्तै अर्का पूर्व उपप्रधान एवं गृहमन्त्री गौतम वर्तमान सरकारका सिँचाइमन्त्री सञ्जय गौतमसँग पराजित हुनुपर्यो ।

वाम गठन्धनका सूत्रधारका रुपमा रहेका वामदेवको पराजयलाई अस्वाभाविक रुपमा समेत अथ्याईएको छ । बर्दिया क्षेत्र नं १ मा एमालेका उपाध्यक्ष गौतम ७५३ मतान्तरले पराजित हुँदा काँग्रेस नेता सञ्जयले ४४ हजार ८२९ मत प्राप्त गरे ।

यस्तै पाँचपटक अर्थमन्त्री भइसकेका काँग्रेसका प्रभावशाली नेता डा रामशरण महत आफ्ना पूर्वचिरपरिचित प्रतिस्पर्धी हितबहादुर तामाङसँग पराजित भए । नुवाकोट क्षेत्र नं १ बाट माओवादी केन्द्रका नेता तामाङ ३६ हजार ४७३ मत प्राप्त गरी विजयी हुँदा काँग्रेस नेता डा महतले २७ हजार ९२० मत प्राप्त गरे । विजयी तामाङले डा महतलाई तेस्रो प्रयासमा पराजित गरेका हुन् । विसं २०५१ देखि लगातार सबै चुनाव जित्दै आएका डा महतको विजय यात्रालाई हितबहादुरले ‘ब्रेक’ लगाइदिएका हुन् । २०६४ र २०७० को संविधानसभा निर्वाचनमा तामाङ डा महतसँग पराजित भएक थिए । डा महतलाई उदारीकरणको अगुवाका रुपमा लिइने गरिन्छ ।

तेस्रो प्रयासमा विजय हासिल गरेपछि तामाङले भने, “नुवाकोटका जनताले परिवर्तनको महसुस गरे र वाम गठन्धनलाई विजयी गराए ।”

संयोग कस्तो परेको छ भने डा महतका भाइ डा प्रकाशशरण र भतिजा रमेश महतले समेत पराजय भोग्नुपरेको छ ।

काँग्रेसका अर्का प्रभावशाली एवं पटकपटक मन्त्री भएका अर्जुननरसिंह केसीले पनि पराजयको स्वाद चाख्नुपर्यो । प्रदेशसभामा नेता केसीका भाइ जगदीश्वरनरसिंह केसी पनि पराजित हुनपुगे । एमालेका जिल्ला अध्यक्ष नारायण खतिवडाले नुवाकोट २ मा १० हजार मतान्तरले पराजित गरेका अर्जुननरसिंह २६ हजार ३३५ मतमा रोकिएक हुन् । खतिवडाले ३६ हजार ८९२ मत प्राप्त गरे ।

यस्तै पूर्वअर्थमन्त्री एवं काँग्रेस नेता महेश आचार्य, प्रभावशाली नेता डा शेखर कोइरालाले पनि पराजय व्योहोर्नु परेको छ । यस्तै पूर्वगृहमन्त्री पूर्णबहादुर खड्काले पनि यस पटकको निर्वाचनमा विजय हासिल गर्न सकेनन् । पटकपटक मन्त्री बनेका डा प्रकाशशरण महत पनि एमाले महासचिव ईश्वर पोखरेलसँग पराजित हुनपुगे ।

भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायले पनि पराजयको स्वाद चाख्नुपरेको छ । उपाध्याय यसअघि मन्त्री पनि भएका थिए । उपाध्याय वाम गठन्धनका उम्मेदवार चक्रपाणि खनालसँग पराजित भए । कपिलवस्तु क्षेत्र नं १ बाट खनाल २९ हजार ७९९ मत प्राप्त गरी विजयी भएक हुन् । खनालका निकटतम प्रतिस्पर्धी काँग्रेसका उपाध्यायले २८ हजार ८५३ मत प्राप्त गरे ।

पराजयको स्वाद चाख्नेको सूचीमा काँग्रेस प्रभावशाली नेता एवं पूर्वउपप्रधान एवं गृहमन्त्री कृष्ण सिटौला पनि छन् । राप्रपाका नेता राजेन्द्र लिङ्देन झापा क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यमा विजयी हुँदा सिटौलाले पराजय भोग्नुपरेको हो । लिङ्देनले ४४ हजार ६१४ मत ल्याउँदा काँग्रेस उम्मेदवार सिटौलाले ३१ हजार १७१ मत मात्र प्राप्त गरेका हुन् ।

पराजय हुनेमा पूर्वमन्त्री नवीन्द्रराज जोशी पनि छन् । काठमाडौँ क्षेत्र नं ८ मा एमालेका नेता जीवनराम श्रेष्ठसँग पराजित हुनपुगे जोशी । श्रेष्ठले १३ हजार ३९७ मत पाउँदा जोशीले १२ हजार ९५३ मत पाए । उनी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा उद्योगमन्त्री थिए ।

हालसम्म घोषित परिणाममध्ये ४१ जिल्लामा वाम गठबन्धनले एकलौटी रुपमा जित निकालेको छ । केही हस्ती र हेवीवेट ठानिएका नेताहरु एक पछि अर्को गर्दै पराजित भइरहँदा प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु राणा देउवा पनि एमाले नेता नारदमुनि रानासँग पराजित हुन पुगेकी छन् । –रमेश लम्साल/रासस

आइतबार, मंसिर २४, २०७४ मा प्रकाशित

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*