युद्धको बाँसुरी

कविता/बाबा बस्नेत

मृत्युुको विरुद्धमा
युद्धरत
म यौटा योद्धा हुँ !

ढुङ्गा चपाउँदै
काँडामाथिको बाटोमा
नाङ्गा पैतालाहरूले टेक्दै
विचारका छालहरूमाथि हिँडिरहेछु !

मान्छेका सपनाहरू निल्ने
बस्तीका मनहरू टुक्र्याउने
र चेतनाका बाँधहरू भत्काउने
एउटा बेसुरो बाढीभित्र
म जीवनको गीत खोजिरहेछु !

यो चुनौतीपूर्ण यात्रामा
त्यही पानीका थोपा थोपा समेटी
म क्रान्तिको नदी जन्माउँदैछु !

सायद,
त्यही नदीको किनारमा बसेर
समयले नौलो इतिहास लेख्नेछ !

यो प्रिय पृथ्वीलाई
सर्प र गोहीका मुखहरूबाट थुतेर
म प्रेम गर्न चाहन्छु !

धारिला ढुङ्गामाथि हिँडिरहेको
एउटा बालकजस्तै, यो देशलाई
स्वाधीनताको मुकुट पहिर्याई
म विश्व मानचित्रमा उतार्न चाहन्छु !

“बाँस त्यसै बाँसुरी कहाँ बन्छ र !“
पक्कै कठिन छ यो यात्रा
तर बाँसुरी जसरी पनि बन्नु नै छ
हो, मलाई स्वीकार छ
मृत्यु विरुद्धको यो युद्ध !

 

baba-basnet

       – बाबा बस्नेत

बुधबार, असोज २५, २०७४ मा प्रकाशित

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*