‘योगमाया’ उपन्यास पढेपछि…

पुस्तक–चर्चा/जयदेव गौतम

प्रकाशित भएपछि उतिसारो चर्चा नपाए पनि वि.सं. २०७४ सालको मदन पुरस्कार प्राप्त गरेपछि भने चर्चाको चुलीमा उक्लिन सफल भएको औपन्यासिक कृति हो– योगमाया । पाल्पाको गोठादीमा जन्मेर हाल अमेरिकामा बसोबास गर्दै आइरहेकी युवा सर्जक नीलम कार्की निहारिकाले रचना गरेको यो पुस्तक समग्रमा ५०३ पृष्ठ लामो छ । यति वृहत पुस्तकको अध्ययनले पाठकको उल्लेखनीय धैर्यताको माग गर्नु पनि स्वाभाविक हो । हेक्का राख्नुपर्ने कुरा के हो भने यो कृति पूर्वी नेपालकी राणा शासनकालीन विद्रोहिणी योगमायाको जीवनीमूलक उपन्यास हो ।

उपन्यास लेख्ने क्रममा नीलमले निकै समय खर्चेको र राम्रै अनुसन्धान गरेको सन्दर्भ पुस्तक पढ्दा थाहा हुन्छ । आफनै विशिष्ट शैलीमा लेखिएको यस उपन्यासमा उनले ‘आरम्भ’ शीर्षकमा अमेरिकी अनुसन्धानकर्ता वार्बरा निम्री अजिजले कवि पारिजातलाई भेटेको, उनकै घरमा बसेको र योगमायाका केही सृजना अंग्रेजीमा अनुवाद गर्न दिएको प्रसङ्ग सविस्तार वर्णनबाट अगाडि बढाएकी छन् । यस क्रममा अन्तिम परिच्छेद ‘उपसंहार’मा नीलमले उपन्यासका लागि कच्चा सामग्री तयार गर्ने क्रममा आफुले भेटेका पात्रहरू र पुस्तक वा अन्य प्रकाशित सामग्री दिई सहयोग गर्नेहरूलाई कृतज्ञतासहित सम्झेकी छन् ।

त्यसो त नीलमले यो उपन्यास अति सुक्ष्मतम विवरण दिँदै लेखेकी छन्, भाषा पनि पुरै ग्रामीण परिवेशको छ । प्रायः छोटाछोटा वाक्य र छोटै प्याराग्राफ छन् । यसले पाठकलाई पढ्न सजिलो पारेको छ । अर्थात लामालामा र बोझिल प्याराग्राफ वा झर्को लाग्नेगरी तन्काइएका वाक्यहरू प्रयोग नभएकाले लेखन पाठकमैत्री छ । उपन्यासकारले यसमा अत्यधिक संवाद प्रयोग गरेकी छन् जसले गर्दा अनेक ठाउँमा झिनामसिना कुराका प्र्रसङ्ग आइरहन्छन् र उपन्यास त्यसैत्यसै लामो हुँदै गएको जस्तो पनि भान हुन्छ ।

योगमाया नेपाली इतिहासको एक कालखण्डमा एकजना प्रखर विद्रोही थिइन् । उनलाई आफ्नै जिन्दगी र परिवेशले नै विद्रोही बनाएको हो । जीवनमा भोग्नुपरेका दुःख, प्रताडना, अपजस, सास्ती, बुहार्तन, सामाजिक लांछना, कटाक्ष, हेलाहोचो आदिले उनलाई गृहस्थी छाडेर धर्मकर्म, तिर्थब्रत र साधुसन्यासीको संगततिर आकर्षित गर्छन् ।

पहिले माइति गाउँबाट धेरै टाढा कुनै कोइराला युवकसँग योगमायाको सानो उमेरमै विवाह हुन्छ जहाँ बुहार्तनबाहेक केही हुँदैन, दुःखको पहाडले च्याँपेको मात्र हुन्छ । त्यहाँबाट न माइत जाने अनुमति पाइन्छ न माइतबाट कोही त्यहाँ पुग्छन् । यस्तोमा एक रात हिम्मत गरेर उनी भागेर माइत आउँछिन् तीन दिन लगाएर । ससुराली माइति सबैतिर हल्लीखल्ली हुन्छ उनी कता गइन् भनेर । पछि तीन दिनसम्म घर न माइत भएर हराएकी बुहारीलाई घर नभित्राउने भएपछि उनी माइतिमै बसेकी हुन्छिन् ।

पुरुषप्रधान समाजका अनेक तानाबाना र कटाक्ष सुनिरहने उनका पिता उनलाई निरन्तर केही न केही भनिरहेका हुन्छन्, अपमानको आगोमा घिउ थपिरहेका हुन्छन् । एक दिन आजित भएर उनी गाउँकै कँडेल थरका युवकसित आसामतिर लाग्छिन् । आमाले गर्ने मायाले मात्र उनलाई रोक्न सक्दैन । आसाममा पहिले गारोसारो भए पनि जीवन क्रमशः सामान्य हुँदै गइरहेको र एक छोरी समेत भइसकेको अवस्थामा अचानक कँडेलको मृत्यु हुन्छ र उनी फेरि एकपटक एक्लो हुन पुग्छिन् । त्यसो त त्यहीँ आसाम छँदै उनलाई सांसारिकताभन्दा साधुहरूको संगत न्यानो लाग्न थालेको हुन्छ । आसाम बसेको धेरै वर्ष बितेको अवस्थामा उनले आफना कान्छा भाइलाई आफूलाई लिन आसाम बोलाउँछिन् । भाइ दिदीलाई लिन आसाम जान्छन् र यहीं प्रसङ्गबाट योगमाया उपन्यास सुरु हुन्छ ।

नेपाल आइसकेपछि माइतमै बसे पनि उनी धेरै कसैसित बोल्दिनन् । मनकामना पुगेर फर्किन्छिन् । उनको मन ध्यानतिर र पछि तपस्या गर्नेतिर जान्छ । अब क्रमशः उनी भक्तिमाता, शक्तिमाई, ठूली हजूर आदि नामले पुकारिन थालिन्छिन् । आफना कुरामा निडर, हक्की, निर्भिक र हठी पनि देखिन्छिन् । र घर छाडेर कुटीमा बस्न थाल्छिन् ।

उनका समर्थक र विरोधी बढ्दै गइरहेका हुन्छन् । अनेक समर्थक र भक्तालुहरू पनि उनीनजिकै, उनीसँगै कुटी बनाएर बस्न थाल्छन् । योगमाया गीत गाउँछिन्, भजन गाउँछिन् । वास्तवमा उनी आशुँ कवि नै प्रतीत हुन्छिन्, तत्काल नयानया गीत र भजन चुट्का रचेर सुनाइहाल्ने । उनका गीतहरू मूलतः धर्ममा आधारित छन्, सँगसँगै सामाजिक चेतना, जागरण र थिचोमिचोका विरुद्ध सशक्त आवाज पनि बनेका छन् । उनले गाउने भजनका केही बान्कीहरू –

 

मायादया गरिदेऊ

शुद्धिकार्य गरिदेऊ

सत्ज्योति सारिदेऊ

असत्लाई मारिदेऊ ।

ंंं

आसामीले थैली कर्जा तिरिसकेछ

साहू भन्ने लोभी चाहिँले बाँकी भनेछ ।

ंंं

 

हेर केटा तमसुकमा यति बढेको

अन्तर्यामी प्रभु देख्छन् धर्म छाडेको ।

ंंं

सुनन सत्यनाथ ! बिन्ती लिनुहोस्

अब त धर्मको योग दिनुहोस्

सकल घरघरै ज्ञान छिट्नुहोस्

अब त धर्मको ढोल पिट्नुहोस् ।

ंंं

सत्य शक्तिनाथ सकल जान्दछौ

तिमी त भक्तको बिन्ती मान्दछौ ।

आफ्ना लोकको हाल हेर्नुहोस्

बिन्ती गर्छु नाथ ! सृष्टि फेर्नुहोस् ।

ंंं

लोभी पापीले दुःख पाउँछ

अब त धर्मयुग रमाउँछ

पृष्ट बुद्धिको सेखी गिर्नेछ

अब त धर्मयुग फिर्नेछ ।

 

योगमाया नारी शिक्षाको पक्षमा छन्, विधवाको मञ्जुरीसहितको विधवा विवाहको पक्षमा छन्, अन्याय, अत्याचार, थिचोमिचोका विरुद्धमा छन्, कमाराकमारी प्रथाको विरुद्धमा छन्, अधर्मको नाश र धर्मको स्थापनाको पक्षमा छन् । फटाहाहरूले जाली तमसुक बनाई सोझासिधालाई उठिबास गराउने चलनविरुद्ध छन्, जातपात र छूवाछूतविरुद्ध छन्, घुसखोरी विरुद्ध छन्, बालविवाह विरुद्ध छन्, नारीसमेत सबैले वेद पढ्न पाउनुपर्ने पक्षमा छन् । उनी खेतीयोग्य जमिन बाँझो राख्न नहुने विचार प्रचारप्रसार गर्थिन्, भूदान यज्ञ गरी गरिबलाई जग्गा उपलब्ध गराउनुपर्ने प्रचार गर्थिन् । थोत्रा ऐन खारेज गरी समयअनुसार नयाँ कानुन प्रचलनमा ल्याउनुपर्ने सोच राख्थिन् । आश्चर्य लाग्छ, एकजना निरक्षर र अनपढ गाउँले महिलाले कसरी यति धेरै राजनीतिक एवम् समाजोपयोगी कुराहरू सोच्न सकेको होला जबकि त्योबेला उनले कुनै सक्रिय राजनीतिकर्मी आदिसित छलफल संवाद नै पनि गर्न पाएकी थिइनन् ?

Jayadev-Gautam

                    जयदेव गौतम

एकपटक अरुण खोलामा ठूलो बाढी आउँछ, अर्को पटक नब्बे सालको महाभुकम्प तर योगमाया र उनका भक्तहरू बस्ने कुटी वा स्थानमा नित्य भजन भइरहन्छ, आपतमा परेकालाई सहयोग पनि भइरहन्छ । उनले आफ्ना मागपत्र लेखी कहिले धनकुटा बडाहाकिमकोमा त अनेकपटक श्री ३ को मा पठाउँछिन् । केही माग पुरा हुन्छन्, उनीहरू खुसी हुन्छन्, योगमायाको मानसम्मान र प्रतिष्ठा बढ्छ । तर पछि उनीहरूका अन्य माग श्री ३ बाट पुरा हुँदैनन् । उनी आफै पनि काठमाडौं पुगेर श्री ३ लाई भेटेर मागपत्र समेत हातैमा थमाएर आएकी हुन्छिन् ।

आफ्ना माग पूरा नभएपछि योगमायाले दुई सयभन्दा बढी अनुयायीहरूका साथ अग्नीदाह गर्ने घोषणा गर्छिन् । त्यसको तयारी चलिरहेकै बेला अन्तिम समयतिर प्रहरी सिपाहीको ठूलो जत्था आइपुग्छ र सबैलाई पक्राउ गरी लैजान्छन्, घिउ लुट्छन् र कुटीहरू जलाइदिन्छन् । उनीहरूलाई तीन महिनादेखि दुई वर्षसम्मको कैद सँजाय हुन्छ ।

तर रिहाइपछि फेरि उही भजन कीर्तनको क्रम जारी रहन्छ । तीर्थ जाने र तपस्या गर्ने क्रम पनि चलिरहन्छ । योगमायाले मौखिक रचना गर्ने र गाउने गरेका गीत, भजन, कवितालाई उतार गरेर ‘सर्वार्थ योगवाणी’ शीर्षकमा भारतबाट छपाई ल्याइन्छ तर त्यसलाई सरकारले जफत गरिदिन्छ । फेरि एकपटक श्री ३ समक्ष मागपत्र बुझाइन्छ । तर ती मागहरू यसपटक पनि पूरा हुँदैनन् । उता काठमाडौंमा दशरथ चन्द, शुक्रराज शास्त्री, धर्मभक्त र गंगालाललाई शहिद बनाइएको र अरु धेरैजना पक्राउ परेको समाचार प्राप्त हुन्छ । अन्ततः आफ्ना मागहरू पूरा नभएपछि राणाशासनका विरुद्धमा असार १९९८ हरिशयनी एकादशीका दिन एकाबिहानै आफना छैसठ्ठी अनुयायीसहित योगमायाले अरुण खोलामा हाम्फालेर जलसमाधी लिन्छिन् । त्यसरी जलसमाधी लिएपछि योगमाया र उनका अनुयायीहरू किम्बदन्तीमा फेरिए, उनीहरू ‘मिथ’ भए ।

पुस्तकमा योगमायाको सकारात्मक वर्णन छ । खासगरी आसाममा बितेको उनको जीवनबारे कँडेल र साधु–संगत बाहेक अन्य सन्दर्भमा उपन्यास मौन छ । उपन्यासकारको अनुसन्धानले योगमायाका विरोधीहरूलाई भने समेट्न नसकेको पनि उपन्यास पढेपछि थाहा लाग्छ ।

सरल भाषामा लेखिएको यो उपन्यास त्यसो त पठनीय छ, सङ्ग्रहणीय पनि छ । यति अनुसन्धान र परिश्रम गरी यस स्तरको उपन्यास लेखेकोमा उपन्यासकार नीलम कार्की निहारिका निश्चय पनि धन्यवादकी पात्र बनेकी छन् । अझ मदन पुरस्कारले उनको परिश्रमलाई अझ सार्थक तुल्याइदिएको छ । त्यसमा पनि नेपाली साहित्यमा यस किसिमका जीवनी वा इतिहास आधारित उपन्यासको अभाव छ । नीलमले यसमा एउटा इँटा थपेकी छन् ।

बुधबार, असोज ३१, २०७५ मा प्रकाशित

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*