योजना आयोगको उपाध्यक्षमा डा. स्वर्णिम वाग्ले

काठमाडौँ, १९ साउन ।

मन्त्रिपरिषद्को आजको बैठकले राष्ट्रिय योजना आयोगको रिक्त उपाध्यक्ष पदमा डा स्वर्णिम वाग्लेलाई नियुक्त गरेको छ ।

केही दिनअघि आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठले राजीनामा दिएपछि सो पद रिक्त थियो । नवनियुक्त डा वाग्ले यसअघि दुई पटक आयोगको सदस्य हुनुभएको थियो ।

सार्वजनिक वित्त, अन्तर्राष्ट्रिय व्यापार क्षेत्रका विज्ञ वाग्ले यसअघि तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाको सरकार तथा प्रचन्ड सरकारका पालामा योजना आयोगका सदस्य हुनुहुन्थ्यो ।

अष्ट्रेलियाको अष्ट्रेलियन नेशनल विश्वविद्यालयबाट अर्थशास्त्रमा विद्यावारिधी गर्नुभएका वाग्लेले अमेरिकाको हार्भड विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय विकासमा स्नातकोत्तर र बेलायतको लण्डन स्कुल अफ इकोनोमिक्सबाट अर्थशास्त्रमा स्नातक गर्नु भएको छ ।

उहाँले विश्व बैकको मुख्यालय वासिङ्टन डिसिमा वरिष्ठ अर्थशास्त्रीको रुपमा समेत लामो समय काम गर्नुभएकाे थियो । राष्ट्रसंघीय विकास कार्यक्रममा नीति विश्लेशकको रुपमा काम गरेको अनुभव पनि उहाँसँग छ ।

राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष डा स्वर्णिम वाग्लेले सङ्घीयताअनुकूल आयोगको पुनःसंरचना र आर्थिक सुधार आफ्नो प्रमुख प्राथमिकता हुने बताउनुभएको छ ।

डा वाग्लेले रासससँग भन्नुभयो, “आयोगलाई आवधिक योजना गाँसगुस गर्ने निकायको रुपमा मात्र नभई यसको पुनःसंरचनाको बहसलाई तार्किक निष्कर्षमा पुर्याउनु मेरो प्राथमिकता हुनेछ ।”

संघीय संसद् र प्रदेशसभाको निर्वाचनपछि आयोगको स्वरुप परिवर्तन गर्नुपर्ने भएकाले वाग्लेले त्यसमा जोड दिनुभएको हो ।

उहाँले दीर्घकालीन सोचका साथ प्रमाणित र वास्तविकतामा आधारित योजना बनाई सन् २०२० सम्म विकासशील मुलुकमा स्तरोन्नति गर्न, सन् २०३० भित्र पूरा हुनुपर्ने दिगो विकास लक्ष्य र मध्यम आय भएको मुलुकको दर्जा हासिल गर्न एकीकृत खाका ल्याउने पनि बताउनुभयो ।

यसअघि दुईपटक आयोगको सदस्य भइसक्नुभएका अर्थशास्त्री वाग्लेले वित्तीय अनुशासन, ऊर्जा, ‘कनेक्टिभिटी’ र सहरीकरणका क्षेत्रमा ठूला पूर्वाधार विकासका लागि नीतिगत पक्षपोषण गर्ने पनि उल्लेख गर्नुभयो । उहाँले स्थानीय तहमा योजना निर्माण र कार्यान्वयनका सन्दर्भमा तालीमका कार्यक्रम पनि सञ्चालन गर्ने जनाउनुभयो ।

योजना आयोग प्रधानमन्त्री अध्यक्ष रहने राष्ट्रिय विकास परिषद्अन्तर्गतको विकास योजना तथा नीति तर्जुमामा सल्लाह दिने उपल्लो निकाय हो । यसले आर्थिक विकासको निमित्त स्रोत साधनको व्यवस्था तथा विनियोजन गर्दै आएको छ । आयोगमा हाल सात सदस्य छन् ।

आयोगमा आर्थिक व्यवस्थापन, सामाजिक विकास, पूर्वाधार विकास, अनुगमन तथा मूल्याँकन, कृषि तथा ग्रामीण विकास र मानव संसाधन विकास महाशाखा गरी छवटा महाशाखा छन् ।

सार्वजनिक वित्त, अन्तर्राष्ट्रिय व्यापार, लगानी र प्रतिस्पर्धात्मक क्षमताका विज्ञ मानिने वाग्ले यसअघि तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाको सरकारमा पनि सोही आयोगका सदस्य हुनुभएको थियो । अष्टे«लियाको अष्टे«लियन नेशनल विश्वविद्यालयबाट अर्थशास्त्रमा विद्यावारिधि गर्नुभएका वाग्लेले अमेरिकाको हार्वड विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय विकासमा स्नातकोत्तर र बेलायतको लण्डन स्कूल अफ इकोनोमिक्सबाट अर्थशास्त्रमा स्नातक गर्नुभएको छ । उहाँ २०४६ सालको एसएलसी परीक्षामा बोर्ड सेकेन्ड हुनुभएको थियो ।

विश्व बैंकको मुख्यालय वासिङ्टन डिसीमा वरिष्ठ अर्थशास्त्रीका रुपमा समेत लामो समय काम गर्नुभएका उहाँ संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रममा पनि नीति विश्लेषक रहिसक्नुभएको छ ।

नेपालमा योजनाबद्ध विकास प्रक्रियाको प्रारम्भसँगै विसं २०१३ मा प्रथम पटक योजना आयोगको नामबाट प्रधानमन्त्रीको अध्यक्षतामा योजना निर्माण गर्ने निकाय गठन भएको थियो । रासस

        बिहीबार, साउन १९, २०७४ मा प्रकाशित

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*