यौटी ‘आइमाई’ को मूल्य कति हो ?

रेखाचित्र : रत्नसागर श्रेष्ठ/टिएचटी

 

कविता/यशोदा अधिकारी

अब ठेगनीदेवी बोल्छिन्
यो समाजमा
यौटी ‘आइमाई’ को मूल्य कति हो ?
चाहे साटियोस पूरै शरीर
दाइजोको बाकससित
चाहे थुनियोस सग्लो जीवन
अन्धकार कोठाभित्र
अब ठेगनीदेवी बोल्छिन्
यो समाजमा
यौटी ‘आइमाई’ को मूल्य कति हो ?

तिमीले कहिल्यै सुनेका थियौ ?
जिउँदै जल्न नसकेर चिच्याएको आवाज ?
तिमीले कहिल्यै याद गरेका थियौ ?
जिउँदै बल्न नसकेर
मट्टितेल खन्याएको ?
कसरी खाएँ हुँला मान्छेको बिष्टा ?
कसरी पिएँ हुँला पीडाका प्यालाहरू ?
तिम्रो कथित नर्कको झ्यालबाट
आज यत्ति भन्न चाहन्छु
यो समाजमा
यौटी ‘आइमाई’को मूल्य कति हो ?

दहेजको आगो
उत्तर आधुनिक झर्नाको पानी थियो
म त्यहीँ झर्नाको पानीमा भिजेँ
नारी स्वतन्त्रताको तलाउमा
एकैछिन डुबुल्की पनि मारेँ
पटक पटक मरेर बाँच्नुभन्दा
जिउँदै जलेकोमा
शीतल शीतल महसुस गरेँ ।

मानौं यो मुलुकमा सलाइका कारखाना
मेरै लागि खुलेका छन्
मट्टितेल पनि मेरै कारणले नै भित्र्याइन्छन्
तेजाबको खरिदबिक्री त
मेरै मुहारका लागि गरिन्छ
अहो ! म कति शक्तिशाली !
नबोलेर पो चुपचाप जलाइएँछु ।

छोरी जन्माउँदाको पीडासँगै पोलिएको
समानताको सेकुवा पनि खाएँ
स्वतन्त्रताको स्वाद पनि चाखेँ
न्यायाधीशको कालो कोट पनि देखेँ
मन्दिर मस्जिद र गुम्बा पुगेर
समानताको गीत पनि सुनेँ
आगो त मेरा लागि पानी बराबर
तिमीलाई आगोले पोल्छ होला
मलाई त शीतल शीतल पो बनाइदियो ।

आगो नलाग्दै कैयन पटक जलेँ
कैयन पटक मरेँ
तर मैले ओढेको मजेत्रो
जलाउन सकेन आगोले ?
मेरा लक्ष्यहरू कहिल्यै
खरानी हुन पनि सकेनन्
आएर हावा हुरी
उडाउन सकेन सपना
हो, मैले मानिन हुँला
चुपचाप बलात्कृत हुन
मैले टेरिन हुँला तिम्रो आदेश
बदलामा एउटा प्रश्न छ
यो समाजमा
यौटी ‘आइमाई’ को मूल्य कति हो ?

एउटा दराज
एउटा पलंग
एउटा गाडी
एउटा रंगीन टेलिभिजन
एउटा दुहुनो भैंसी
र, एउटी ‘आइमाई’
कुनचाहिँ महंगो पर्ला ?
जिउँदै जलेर पनि
ठेगनीदेवीले नबुझेको एउटा सत्य कुरा
यो समाजमा
यौटी ‘आइमाई’ को मूल्य कति हो ?

yashoda adhikari

–यशोदा अधिकारी

      शनिबार, भदौ १७, २०७४ मा प्रकाशित

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*