सिङ्गो गाउँ नै शाकाहारी, पशुबलि र मदिरा निषेधित

इलाम, १७ भदौ ।

देवी देवता खुशी पार्ने निहुँमा धेरै मठमन्दिर र धार्मिकस्थलमा बलि चढाउने गरिए तापनि इलामको यस्तो ठाउँ छ जहाँ पशुबध गर्न कहिल्यै दिइँदैन् ।

जिल्लाको पश्चिमी माङसेबुङ गाउँपालिकाको बाँझोस्थित किराँत धर्मावलम्बी रहेको माङसेबुङमा अहिले पनि पशुबलि र मदिरा निषेध छ । यहाँका प्रत्येक घरैपिच्छे तीनवटा बाँसका लिङ्गामा राता र सेता रङका ध्वजा राखिएको छ । पहिलोपटक त्यहाँ पुग्ने जो कोहीलाई पनि अनौठो लाग्छ । तर यो कुनै पार्टी र संघसंस्थाको झण्डा नभई यस गाउँको विशेषता नै हो । दुई वर्षअघि यस गाउँलाई शाकाहारी गाउँ घोषणा गरिएको थियो ।

किराँत धर्मावलम्बीको धार्मिकस्थल माङसेबुङका करिब एक हजार ५०० बढी घरमा यस्तै ध्वजा राखिएको छ । सो गाउँमा मासु, जाँड, रक्सी निषेध गरिएको छ ।

जिल्ला र अन्य क्षेत्रबाट त्यहाँ जाने नवआगन्तुकलाई पनि कुनै किसिमका मदिराजन्य पदार्थ तथा सुर्ती, चुरोटसमेत सेवन गर्न निषेध गरिएको स्थानीय माङ्गेना सेवा समितिका अध्यक्ष केहरसिंह योङहाङ बताउँछन् । जताततै फोहर गर्न, सुँगुर, कुखुरा पाल्न र मदिरा उत्पादन गर्न पनि गाउँवासीलाई प्रतिबन्ध नै लगाइएको छ ।

किराँत लिम्बू भाषाअनुसार ‘माङ’ भनेको देवता र ‘सेबुङ’ भनेको छानेको ठाउँ अर्थात् देवताले छानेको ठाउँ भएको विश्वाससहित डेढ दशकयता नै माङसेबुङमा बसोबास भइरहेको छ । सोही समयदेखि किराँत धर्म मान्नेले माङसेबुङलाई धार्मिक आस्थाको केन्द्रको रूपमा लिन थालेका हुन् ।

माङ्गेना सेवा समितिका अध्यक्ष योङहाङले विशेष गरी लिम्बू समुदायको बसोबास रहेको सो स्थान किराँत धर्मगुरु मुहिङ्गगुम आङसीमाङ लिङदेन आत्मनन्द सेइङ्ग (आत्मनन्द लिङदेन) को कर्मथलोको रूपमा विकास गरिएको छ । प्रत्येक वर्ष मंसिर १८ गते धर्मगुरुको शुभ जन्मोत्सवलाई त्यहाँ धार्मिक उत्सवको रूपमा मनाइन्छ ।

त्यसैगरी फागुन ३ गते गुरुआमा पवित्रहाङ्मा साँवा लिङदेनको जन्मोत्सव पनि धुमधामका साथ मनाउँदै आइएको छ । धार्मिकस्थलको रूपमा विकास भएको माङसेबुङमा अहिले करिब १० हजार जनसंख्या रहेको छ भने यहाँ विशेष गरी गुरुको जन्मोत्सव र मंसिरे पूर्णिमा तथा वैशाखे पूर्णिमालाई विशेष पर्वका रूपमा मनाइने गरिन्छ ।

झापाको दमकदेखि करिब १३ किलोमिटर उत्तरतर्फ कच्ची मोटरबाटोको यात्रा गरेर पुग्न सकिने माङसेबुङ विकासको दृष्टिले निक्कै पछि परेको छ । त्यहाँसम्म पुग्न ७४ पटक रतुवाखोला तर्नुपर्छ । रासस

    शनिबार, भदौ १७, २०७४ मा प्रकाशित

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*