समानुपातिक मत : एमालेमा महिला, कांग्रेसमा पुरुष भाग्यमानी

काठमाडौं, ३ पुस ।

समानुपातिकबाट एमाले र माओवादी केन्द्रले अधिकांश महिलालाई सांसद बनाउनुपर्ने भएको छ भने कांग्रेसबाट आधाजसो पुरुषले सांसद बन्ने मौका पाउँदै छन् ।

निर्वाचन आयोगले समानुपातिकतर्फको मतगणना आइतबार सम्पन्न गरेसँगै समानुपातिकबाट सांसद बन्नेहरूको चर्चा चल्न थालेको हो । एमालेले प्रत्यक्षतर्फ ८० सिट जिते पनि जम्माजम्मी दुई जना मात्रै महिला सांसद बनेकाले समानुपातिकमा महिलालाई स्थान दिनुपर्ने अवस्था छ ।

समानुपातिकतर्फ एमालेले ४१ सिट पाउने देखिएको छ । ३३ प्रतिशत महिलाको प्रतिनिधित्व गराउनैपर्ने संवैधानिक बाध्यताका कारण उसले समानुपातिकतर्फ अधिकांश महिलालाई सांसद बनाउनुपर्ने भएको हो ।

प्रत्यक्ष र समानुपातिक गरी कुल १ सय २१ सिट जितेको एमालेले ३९ जना महिलालाई समानुपातिकबाट सांसद बनाउनुपर्ने हुन्छ । दुई जना प्रत्यक्षमा जितिसकेकाले एमालेले अब ३७ जना महिलालाई समानुपातिकबाट ल्याउनुपर्छ ।

प्रत्यक्षतर्फ निकै खस्केको कांग्रेसले समानुपातिकतर्फ भने राम्रै मत पाएको छ । प्रत्यक्षतर्फ २३ सिट जितेको उसले समानुपातिकतर्फ एमालेभन्दा एक मात्र कम सिट पाउने भएको छ ।

दुवै चुनावी प्रणालीबाट ६३ सिट जितेको कांग्रेसबाट समानुपातिकबाट भने आधाजसो पुरुष उम्मेदवारले सांसद बन्ने मौका पाउने भएका छन् । उसले समानुपातिकबाट २१ महिला र १९ पुरुषलाई सांसद बनाउन पाउने भएको छ ।

प्रत्यक्षतर्फ दोस्रो दल बने पनि समानुपातिकबाट भने माओवादी केन्द्र तेस्रो दल बन्न पुगेको छ । माओवादी केन्द्रले १७ सांसद पाउने देखिएको छ । – अन्नपूर्ण पोस्टबाट

सोमबार, पुस ३, २०७४ मा प्रकाशित

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*