सम्बन्धको स्वभाव

कविता/मञ्जु थापा

सम्बन्धको मिठास मैले चाखिसकेँ
यसको तिक्तता मैले भोगिसकेँ

स्थान उही पात्र उनै
तर अलिकता तलमाथि हुनासाथ
एउटा मन थोरै बरालिनासाथ
कति धेरै फरक पर्छ
अर्को मनले पनि
विरक्तिएरै प्रतिक्रिया दिन्छ
सम्बन्धका तन्तुहरू खुकुलिन थाल्छन्

साटिएका मुटुहरू
अन्जान हुन थाल्छन्
खुसी नै खुसीको
जीवनको परिभाषा
निस्सारतामा फेरिन्छ

सम्बन्धको मिठास
भ्रम रहेछ कि भन्ने भ्रम जन्मिन्छ
समर्पणबाट बोध गरेको मिठास
अपेक्षा टुक्रिँदा खोक्रो हुँदो रहेछ

त्यागले अनुभूत भएको मिठास
भावनाको बेवास्तामा जीर्ण बन्दो रहेछ
सम्बन्धको स्वभाव अत्यन्त
तरल हुँदो रहेछ
पानी जस्तै
कविता जस्तै ।।।

– मञ्जु थापा
                          – मञ्जु थापा

      शनिबार, भदौ १०, २०७४ मा प्रकाशित

2 Comments on सम्बन्धको स्वभाव

Leave a Reply to Bindhya Cancel reply

Your email address will not be published.


*