सागमा शुक्रबार – गौरिका र गोल्फर सुवासलाई दोस्रो स्वर्ण, भारत्तोलक विकास र धावक गोपीचन्द्रलाई स्वर्ण

नेपालको स्वर्ण पदक संख्या ४१ पुग्यो, भारत ८१ स्वर्णसहित पहिलो स्थानमा

खेल संवाददाता
काठमाडौं । जारी १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा शुक्रबार नेपाली खेलाडीहरू पौडीकी गौरिका सिंह, गोल्फर सुवास तामाङ, भारत्तोलक विकास थाप र लामो दूरीका धावक गोपीचन्द्रले स्वर्ण पदक जितेका छने । यसले गर्दा नेपालको स्वर्ण पदक संख्या ४१ पुगेको छ र दक तालिकामा नेपाल दोस्रो स्थानमा यथावत् छ ।

शुक्रबार पौडीकी गौरिका सिंहले व्यक्तिगत दोस्रो स्वर्ण जितेकी हुन् । सातदोबाटोस्थित इन्डोर स्विमिङ पुलमा उनले २ सय मिटर ब्याकस्ट्रोकमा स्वर्ण हासिल गरेकी हुन् ।

गौरिकाले निर्धारित दूरी २ मिनेट १७।७३ सेकेन्डमा पूरा गरिन् । उक्त स्पर्धामा भारतकी मन्ना पटेल २ मिनेट २०:७१ सेकेन्डमा दूरी पूरा गर्दै दोस्रो भइन् । श्रीलंकाकी गंगा सेन २ मिनेट २७:२५ सेकेन्ड समयसहित तेस्रो भइन् ।

गौरिकाको जारी सागमा यो दोस्रो स्वर्ण हो । उनले यसअघि बिहीबारको प्रतिस्पर्धामा पनि स्वर्ण जितेकी थिइन् । नेपालले यस स्वर्णसँगै जारी सागमा ४१ स्वर्ण पदक पूरा गरेको हो ।

१७ वर्षीय गल्फर सुवासलाई दोहोरो स्वर्ण

गोल्फर सुवास तामाङले १७ वर्षको उमेरमै नेपाललाई दोहोरो स्वर्ण दिलाएका छन् । उनले गोल्फको एकल र‌ टिम इभेन्टमा स्वर्ण हासिल गर्दै कम उमेरमा दोहोरो स्वर्ण जित्ने इतिहास कायम गरेका हुन् ।

Subash Tamang 13th SAG-Gold

सुवासले अन्तिम दिन ३ अन्डर ६९ स्कोरसहित कुल १४ अन्डर २७४ स्कोरसहित प्रथम स्थान हासिल गरे । उनले बंगलादेशका मोहमद फरहादलाई ८ स्ट्रोकले पछि पारे । फरहादले ६ अन्डर २ सय ८२ स्कोर जोडे । नेपालका शुक्रबहादुर राईले ४ अन्डर २ सय ८४ अंकसहित कास्य जिते ।

यस्तै नेपालले टिम इभेन्टतर्फ पनि स्वर्ण पदक पक्का गरेको छ । टिम इभेन्टमा नेपालबाट सुवाससँगै शुक्रबहादुर राई, टंकबहादुर कार्की र निरज तामाङ रहेका छन् । नेपालले टिम इभेन्टमा कुल ८ सय ३८ अंक जोड्दा बंगलादेशले ८ सय ५६ अंक जोड्दै रजत हात पार्यो । श्रीलंकाले ८ सय ७८ अंकसहित कास्य जित्यो ।

नेपाली महिला टोलीले भने कास्य पदकमा चित्त बुझायो । श्रीलंकाले ६ सय ७ अंकसहित स्वर्ण, बंगलादेशले ६ सय ३९ अंक जोड्दै रजत जित्दा नेपाल ६ सय ८१ अंकसहित तेस्रो भयो ।

भारोत्तोलनका विकासलाई स्वर्ण

Bikas Thapa 13th saag gold

भारोत्तोलनका विकास थापाले पुरुष ८९ केजी तौल समूहमा स्वर्ण पदक जितेका छन् । उनले स्न्याचमा १ सय २३ केजी र क्लिन एन्ड जर्कमा १ सय ४६ केजीसहित कुल २ सय ६९ केजी तौल उचाले ।

पछिल्लो संस्करणमा रजत जितेका विकासले यसपटक आफ्नो प्रदर्शन सुधार गरेका हुन् ।

भारत्तोलनमा नेपालका कमलबहादुर अधिकारी– राज्यलक्ष्मी अधिकारी पति–पत्नी दुवैजनाले कांस्य पदक जितेका छन् । स्मरणीय छ, साग भारोत्तोलनको १०औं संस्करणसम्म एकमात्र स्वर्ण विजेता नेपालका कमलबहादुर अधिकारी जारी १३ औं संस्करणको भारोत्तोलन प्रतियोगितामा भने कास्यमा सीमित भए ।

kamal-rajyalaxmi-13th saag

यसै गरी कमल अधिकारीकी पत्नी राज्यलक्ष्मीले यसै सागमा महिलाहरूको पनि ७१ किलो स्न्याचतर्फ कुल १५० किलो तौल उचालेर कांस्य जितेकी छन् ।

गोपीचन्द्रलाई ५ हजार मिटर दौडमा स्वर्ण

धावक गोपीचन्द्र पार्कीले पुरुष ५ हजार मिटर दौडमा स्वर्ण जितेका छन् भने सोही स्पर्धामा नेपालकै हरिकुमार रिमाल उक्त स्पर्धामा तेस्रो भए ।

गोपीले निर्धारित दूरी १४ मिनेट ५४:२० सेकेन्डमा पूरा गर्दै प्रथम स्थान हासिल गरे । उनले भारतका सुनील दवारलाई करिब १ सेकेन्डले पछाडि पारेका थिए । सुनीलले १४ मिनेट ५५;२१ सेकेन्डमा दूरी पूरा गरे । नेपालका हरिकुमार रिमालले १४ मिनेट ५७:०५ सेकेन्डमा दौड पूरा गर्दै कास्य जिते ।

Gopi-Chandra-Parki-saag gold

दौडका दौरान अधिकांश समय शीर्ष तीनमै रहेका गोपीले अन्तिम १ सय मिटरमा मात्र अग्रता लिएका थिए ।

योसँगै एथलेटिक्समा नेपालले १३ औँ सागमा दोस्रो स्वर्ण जितेको छ । यसअघि सन्तोषी श्रेष्ठले महिला १० हजार मिटर दौडमा स्वर्ण जितेर नयाँ कीर्तिमान कायम गरेकी थिइन् ।

 
शुक्रबार, मंसिर २१, २०७६ मा प्रकाशित

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*