‘सुपर बउल’ को चहकमहकमा मख्ख नेपाली

जीवन-शैली/जयदेव गौतम

अमेरिकामा त्यस दिन फेब्रुअरीको दोस्रो शनिबार थियो । भोलिपल्ट अर्थात् महिनाको दोस्रो आइतबार हुनुपर्ने नियमित मासिक ‘जुम मिटिङ’ का लागि सूचना सम्प्रेषणका साथै सामान्य छलफल पनि गर्नुपर्ने थियो । एकपछि अर्को गर्दै तीन–चारजनासित कुराकानी गर्न मोबाइल फोनको घण्टी पालैपालो बजाइयो ।

एक महिला मित्रले भनिन्, ‘ओहो, भोलिको मिटिङमा त म सहभागी हुन सक्दिन होला किनभने घरमा मेरा दिदीबहिनी, ज्वाइँ र अरू नातेदार पनि भेला हुँदैछन् । श्रीमान्जी पनि अन्य कामहरू छाडेर ‘भोलि साँझ त सुपर बउल हेर्ने हो’ भन्दै मख्ख परेर बस्नुभएको छ । अमेरिकामा ‘सुपर बउल’ भनेको त नेपालमा दसैँ जस्तै पो हुन्छ । बरु हाम्रो मिटिङ भोलिको सट्टा त्यसपछि आउने आइतबार हुने गरी सार्नु पर्ला ।’

‘सुपर बउल’ बारे थाहा र चासो नहुनेलाई त यो भनेको के हो के ! उही, कागलाई बेला पाक्यो हर्ष न विस्मात् भनेजस्तो !

अर्की एकजना सहभागीको पनि त्यस्तै कुरा आयो, ‘आम्मई, मैले झण्डै बिर्सेकी ! भोलिको मिटिङमा त म बस्न भ्याउँदिन । भोलि आइतबार सुपर बउल छ, सँगै हेर्ने भनेर केही साथीहरू सपरिवार हामीकहाँ आउने भएका छन् । त्यसकारण म त उनीहरूसँगै व्यस्त हुनुपर्ने हुन्छ । बरु हाम्रो मिटिङ त्यसपछिको आइतबारलाई सार्दा नै बेस हुनेजस्तो पो लाग्छ मलाई त । सायद अरू धेरैजसो साथीहरूको पनि त्यस्तै होला ।’

संयोग, १४–१५ जना हुनुपर्ने त्यो मिटिङका लगभग जम्मै सहभागी त्यही सुपर बउलले गर्दा आ–आफ्नै ढंगले व्यस्त हुनुपर्ने अवस्था बनेको रहेछ । त्यसले गर्दा त्यो मिटिङ यो आइतबारको सट्टा त्यसपछि आउने आइतबारका लागि सार्नुको विकल्प थिएन । कसैलाई पनि त्यही सोमबार परेको ‘भ्यालेन्टाइन डे’ ले कत्ति पनि छोएको थिएन !

सबैतिर त्यही सुपर बउलको चहकमहक थियो । यो वास्तवमा अमेरिकाको एक विशिष्ट खेल महोत्सव जस्तै हो । स्वदेशी त भई नै हाले, रोचक त के भने अमेरिकामा बसोबास गरिरहेका नेपालीमा पनि यस विशिष्ट खेल–अवसरप्रति अचम्मको चासो देखिन थालेको छ ।

त्यही आइतबारकै अर्को कुनै कार्यक्रमका लागि एकजना बन्धुलाई फोन गरेँ । दुई–चार वाक्य आदान–प्रदान के भएका थिए, निजले त फ्याट्ट भनी पो हाले, ‘अरे जेडी दाइ, के कुरा गर्नुभएको ? बिर्सनुभयो कि क्या हो ? भोलि आइतबार त सुपर बउल पो छ त । कतै जाने वा कुनै कार्यक्रम गर्ने भन्ने कुरै आउँदैन । घरमै बसेर आनन्दसाथ सपरिवार सुपर बउल हेर्ने हो, सके केही साथीहरू पनि सँगै हेर्ने भनेर आउन सक्छन् ।’

म नाजवाफ मात्र हुन सकेको थिएँ । अँ, त्यसपछि भने अरू कसैलाई फोन गरेको थिइनँ ।

SUPER-BOWL

त्यसो त अङ्ग्रेजी महिना फेब्रुअरीसँगै संसारका प्रेमिल दिलहरूको घोषित वार्षिक माया–महोत्सव ‘भ्यालेन्टाइन डे’ ओझेलिँदै जान्छ र केवल फाट्टफुट्ट चर्चामा सीमित हुन पुग्दछ, तथापि मायालु मनहरूलाई पिरतीका खेतहरूमा बयेली खेल्न त कहिले कुन कुराले पो छेक्न सकेको छ र ? हृदयका तार झङ्कृत हुन, मनसित मन मिल्न र प्रीति साटासाट हुनबाट त कसले कहिले पो रोक्न सकेको छ र ?

त्यसरी गइसकेको भ्यालेन्टाइन डेको प्रसङ्ग यहाँ किन उप्काउनुपरेको हो भने यही खास दिनकै सेरोफेरोमा अमेरिकी समाज पछिल्ला अनेक दशकदेखि राष्ट्रियस्तरमै एउटा खास खेल महोत्सवमा झुम्ने र रमाउने गर्दै आइरहेको छ । यस अवसरको प्रत्यक्षदर्शी बन्न ‘डाइहार्ड फ्यानहरू’ मिलेसम्म मैदानमै पुग्छन् । त्यो सम्भव नहुनेहरू टेलिभिजन स्क्रिनअगाडि झुम्मिएका हुन्छन् । त्यसरी, टिभी सेट/स्क्रिनअगाडि रमाउनेहरूमा अमेरिकी राष्ट्रपतिसमेत तमाम गण्यमान्यदेखि ‘नगण्य–नमान्य’ सम्मका अधिकांश नागरिक हुन्छन् ।

यो खास अमेरिकी खेल महोत्सव हो– सुपर बउल । आम अमेरिकीका लागि यो विशेष अवसर हुन्छ, ठीक त्यसरी नै जसरी अन्यत्र कतै भन्दा ‘थ्याङ्कस गिभिङ डे’ अमेरिकीका लागि अत्यन्त खास चाडका रूपमा रहँदै आएको छ । सुपर बउल अमेरिकी फुटबल खेलको फाइनल प्रतियोगिता हो जसले राष्ट्रिय फुटबल लिग (एनएफएल) को विजेता वा च्याम्पियन टोली निर्धारण गर्दछ ।

यो वर्ष १३ फेब्रुअरी २०२२ मा अर्थात् भ्यालेन्टाइन डेको पूर्वसन्ध्यामा ५६औँ सुपर बउल भएको थियो । यो प्रतियोगिता क्यालिफोर्नियाको इङ्गलवुडस्थित सोफाई रंगशालामा भएको थियो । ‘एनएफएल सिजन २०२१’ को त्यस फाइनलमा ‘लस एन्जल्स र्याम्स’ टोली ‘सिन्सीनाटी बेङ्गल्स’ टोलीलाई २३–२० अङ्कले पराजित गर्दै नयाँ च्याम्पियन बनेको हो । समग्रमा यसपटकसमेत विजेता टोली लस एन्जल्स ¥याम्स चौथोपटक च्याम्पियन बन्न सफल भएको हो ।

यो रंगशाला विजेता टोली लस एन्जल्स र्याम्सको घरेलु रंगशाला (होम स्टेडियम) पनि हो । घरेलु मैदानमा खेलेर विजेता बन्न सफल भएको यो केवल दोस्रोपटक मात्र हो । सुपर बउलको समाप्तिमा यही टोलीका ‘वाइड रिसिभर’ कुपर डगलस कप ‘सुपर बउल मोस्ट भ्यालुएबल प्लेयर अवार्ड’ (सुपर बउल एमभीपी) पुरस्कारबाट पुरस्कृत/सम्मानित भए । रोचक के छ भने यो पुरस्कार नेसनल फुटबल लिगसम्बन्धी समाचार–विश्लेषण मात्र नियमित लेखिरहने खेल–पत्रकार/लेखक र रेडियो/टेलिभिजन ब्रोडकास्टरहरूबाट छनोट भएका सोह्र जनाको निर्णायक समिति (प्यानल) बाट निर्णय हुने गर्दछ ।

SUPER-BOWL 4
नेसनल फुटबल लिग सिजन २०२१ को फाइनल अर्थात् यस वर्षको सुपर बउलमा भिडेका यी दुई टोलीमध्ये लस एन्जल्स र्याम्सचाहिँ नेसनल फुटबल कन्फेरेन्स (एनएफसी) च्याम्पियन हो भने सिन्सीनाटी बेङ्गल्स टोली अमेरिकन फुटबल कन्फेरेन्स (एएफसी) च्याम्पियन हो । सन् १९७० मा एनएफएल र उसको तत्कालीन प्रतिद्वन्द्वी अमेरिकन फुटबल लिग (एएफएल) एकआपसमा विलय भएका थिए । त्यही वर्षदेखि नेसनल फुटबल लिग–एनएफएल) को मातहत रहने गरी यी दुई कन्फेरेन्स (महासंघ) को स्थापना भएको थियो ।

यी दुवै महासंघमा १६–१६ वटा टोली छन् । ती सोह्र टोलीमध्ये पनि चार–चार समूहमा विभाजन गरी ‘होम एन्ड अवे’ आधारमा आ–आफ्नो कन्फेरेन्सअन्तर्गतका च्याम्पियनसिप प्रतियोगिताहरू हुने गर्दछन् । वर्तमान विजेता लस एन्जल्स ¥याम्सले पाँचपटक नेसनल फुटबल कन्फेरेन्स (एनएफसी) उपाधि जितिसकेको छ । सबैभन्दा धेरैपटक यो उपाधि भने (आठपटक) ‘डालास काउ ब्वायज’ टोलीले जितेको छ ।

अमेरिकन फुटबल कन्फेरेन्स (एएफसी) को वर्तमान विजेता सिन्सीनाटी बेङ्गल्स समग्रमा तेस्रोपटक एएफसी लिग च्याम्पियन बनेको हो । यो च्याम्पियनसिप सबैभन्दा धेरैपटक (एघारपटक) जित्ने टोलीचाहिँ ‘न्यु इङ्ग्ल्यान्ड प्याट्रिओट्स’ टोली हो ।

दुई कन्फेरेन्स मातहतका ३२ टोलीबीच ‘होम एन्ड अवे’ आधारमा सेप्टेम्बरदेखि जनवरी अर्थात् चार महिनासम्मका अठार साता लामो नियमति सिजनअन्तर्गत साप्ताहिक रूपमा म्याच हुन्छन् । नियमित सिजनको समाप्तिमा प्रत्येक कन्फेरेन्सबाट सात–सात टोली ‘प्लेअफ’ का लागि छानिन्छन् । प्लेअफ भनेको पराजित हुने टोली प्रतियोगिताबाट बाहिरिन पुग्ने हो । त्यसरी, दुई कन्फेरेन्सका विजेता टोलीहरूको टुङ्गो लाग्छ र प्लेअफको उत्कर्षका रूपमा तिनै दुई टोलीबीच सुपर बउल सम्पन्न हुन्छ ।

SUPER-BOWL 1
त्यसो त अमेरिकामा बेसबल, बास्केटबल, आइस हकी, अमेरिकी फुटबल, सकर, प्रोफेसनल रेस्लिङ आदि अत्यन्त लोकप्रिय खेलका रूपमा रहेका छन् तापनि यहाँ अत्यन्त सफलचाहिँ चारवटा प्रमुख व्यावसायिक खेलकुद संघ छन् जसलाई ‘फोर मेजर नर्थ अमेरिकन प्रोफेसनल स्पोर्टस लिग’ भनिन्छ । यी चार संघमा मूलतः मेजर लिग बेसबल (एमएलबी), नेसनल बास्केटबल एसोसिएसन (एनबिए), नेसनल फुटबल लिग (एनएफएल) र नेसनल हकी लिग (एनएचएल) हुन् । यी चार महासंघलाई सामान्यतया ‘बिग फोर’ पनि भनिन्छ किनभने अमेरिका मात्र नभएर समग्र विश्वमै सबैभन्दा धनी व्यावसायिक क्लब प्रतियोगिता गर्ने गराउने संस्था यिनै हुन् । धनाढ्य क्लब खेल आयोजनाको पाँचौँ नम्बरमा बेलायतको ‘इङ्ग्लिस प्रिमियर लिग’ आउँदछ ।

धन र सम्पन्नताको दृष्टिकोणले अमेरिकामा ‘मेजर लिग सकर’ (एमएलएस) र ‘द क्यानेडियन फुटबल लिग’ (सिएफएल) पनि निकै माथि रहेका मानिन्छन् ।

सुपर बउल अवसरको आफ्नै आनन्द छ । आफ्नो विशिष्ट रौनक छ । आयोजक, अतिथि, प्रतियोगी टोली, सानादेखि ठूलासम्म सबै क्षणको कहानी टिपेर सम्प्रेषण र प्रसारण गर्न दत्तचित्त अनुभवी पत्रकार र दर्शकले खचाखच भरिएको रंगशाला, अनि घरघरमा टेलिभिजनअगाडि झुम्मिएका सुपर बउल–अनुरागीहरू र त्यत्ति मात्र होइन, ठाउँ–ठाउँमा होटल, पब, रेस्टुराँ र डबलीमा ठूला स्क्रिन राखेर मन पर्ने पेय पदार्थका साथ अन्तिम परिणामको प्रतीक्षामा रत्तिएका हजारौँ–लाखौँ दर्शक ! हाहा र हुहुका समवेत् स्वरबीच यस्तो वातावरणले कस्तो परिदृश्य सिर्जना गर्दछ होला ! मानौँ करिब दुई घण्टा सारा अमेरिका सुपर बउलमय बनेको हुन्छ !

नेपालीहरू कोही पनि अमेरिकी फुटबल लिग खेल्दैनन् । शारीरिक रूपले पनि हत्पति औसत नेपालीलाई यो खेल खेल्ने अनुमति दिँदैन । किनभने यो खेलमा सामान्यतया शक्तिवान, बलवान र अग्ला खेलाडीहरूकै उपस्थिति देखिने गर्दछ । तथापि, आफू नखेले पनि यसप्रति रुचि त धेरैको हुन्छ र यो नखेले पनि यसबारे चर्चा–परिचर्चा त अनगन्ति मानिसले गरिरहेकै हुन्छन् । त्यसमा नेपाली किन पछि हुन्थे र !

SUPER-BOWL 4

सुपर बउलको रमाइलो विशेष किसिमको हुन्छ । यो सुरु हुनुअगाडि अमेरिकी राष्ट्रिय गान गाइन्छ र यो गान हरेक वर्ष फरक–फरक बहुचर्चित गायक वा गायिकाले प्रत्यक्ष गाउने गर्दछन् । यो वर्ष राष्ट्रिय गान लोकगायिका मिकी गाइटनले गाएकी थिइन् । यसैगरी, सुपर बउलको मध्यान्तरमा हलिउडका सेलिब्रेटी गायक–गायिकाहरूले आफ्नो विशेष प्रस्तुति दिने गर्दछन् ।

सुपर बउलको इतिहासमै पहिलोपटक यो वर्ष मध्यान्तरमा र्याप र हिप–हप गीत–संगीत प्रस्तुत गरिएको थियो । डा. ड्रे, स्नूप डाउग, एमिनेम, मेरी जे ब्लिज, केन्ड्रिक ल्यामर र एन्डर्सन पाकले यो सांगीतिक प्रस्तुति दिएका थिए । अमेरिकी टिभी एनबीसीबाट प्रत्यक्ष प्रसारणमा बोल्दै गरेकी पत्रकार मारिया टेलरले भनेकी थिइन्, ‘सम्भवतः यो सुपर बउलको मध्यान्तरमा प्रदर्शन भएका कार्यक्रमहरूध्ये सबैभन्दा भव्य प्रस्तुति हो ।’

INGLEWOOD, CALIFORNIA - FEBRUARY 13: (L-R) Eminem, Kendrick Lamar, Dr. Dre, Mary J. Blige, 50 Cent, and Snoop Dogg perform during the Pepsi Super Bowl LVI Halftime Show at SoFi Stadium on February 13, 2022 in Inglewood, California. (Photo by Gregory Shamus/Getty Images)

अमेरिकाभरिमा यो वर्ष सुपर बउल १० करोडभन्दा धेरै मानिसले टेलिभिजनमा प्रत्यक्ष हेरेका थिए । यस खास अवसरको यस्तै क्रेज भएर हुनुपर्छ, रंगशालामा उपस्थित भएर ७० हजार दर्शक प्रत्यक्षदर्शी बनेको यस वर्ष सुपर बउलको बेला टिभीमा केवल ३० सेकेन्ड विज्ञापन प्रसारण गरेको शुल्क ६५–७० लाख डलर थियो !

यही र योभन्दा अझ धेरै रोचकता र रोमाञ्च लिएर अर्को वर्ष फेरि सुपर बउल आयोजना हुनेछ र त्यति बेला एनएफएल सिजन २०२२ को फाइनलका रूपमा ५७ औँ च्याम्पियनसिप गेम सन् २०२३ फेब्रुअरी १२ मा एरिजोना राज्यको ग्लेनडेलस्थित स्टेट फार्म स्टेडियममा सम्पन्न हुनेछ । (तस्विरहरु : सिएनएन,युएसए टुडे,फक्स न्युज,द इन्टरटेन्टमेन्ट)

शुक्रबार, ११ चैत २०७८ मा प्रकाशित

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*