१०० प्रभावशाली महिलाको फोर्ब्स-सूचीमा अभिनेत्री प्रियंका चोपडा

नयाँ दिल्ली, १६ कात्तिक ।

विश्वका १०० प्रभावशाली महिलाको सूचीमा भारतीय फिल्म उद्योग बलिउडकी अभिनेत्री प्रियंका चोपडा पनि परेकी छन् ।

विश्वचर्चित म्यागेजिन फोर्ब्सले उनलाई मनोरन्जन र मिडिया संसारका सबैभन्दा प्रभावशाली महिलाको सूचीभित्र १५औं स्थानमा राखेको हो ।

यो सूची चर्चित पप गायिका बियोन्से चौथो स्थान र गायक टेलर स्विफ्ट १२औं स्थानमा परेका छन् ।

यो म्यागेजिनको सबै श्रेणीको सूचीभित्र भने प्रियंका ९७औं स्थानमा परेकी छन् । सूचीमा जर्मनीकी चान्सलर एन्जेला मर्केल पहिलो स्थानमा छन् । गायिका बियोन्से ५०औं र टेलर ८५ औं स्थान छन् । १०० प्रभावशाली महिलाको सूचीभित्र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी छोरी इवान्का पनि अटाएकी छन् ।

सामाजिक काममा पनि देखिँदै आएकी प्रियंका बलिउडका साथै अमेरिकी फिल्म उद्योग हलिउड अभिनयमा समेत सक्रिय छिन् । एक हलिउड टेलिभिजन शोमा नियमित काम गरिरहेकी प्रियंका अमेरिकी टेलिभिजन शोमा काम गर्ने पहिलो भारतीय कलाकार पनि हुन् ।

फोर्ब्सले सार्वजनिक गरेको सबैभन्दा बढी कमाइ गर्ने अभिनेत्रीको सूचीमा भने प्रियंका ८औँ स्थानमा छिन् । गत वर्ष प्रियंकाको नाम यो सूचीको १०औं स्थानमा थियो ।

फोर्ब्सले जारी गरेको बलिउडका १० कमाउ अभिनेत्रीको सूचीमा भने उनी ७ औं स्थानमा परेकी छन् ।

हलिउड टेलिभिजन शोका कारणले प्रियंका दुई पटकसम्म पीपल्स च्वाइस अवार्ड विजेता समेत बनिसकेकी छन् । (एजेन्सी)

बिहीबार, कात्तिक १६, २०७४ मा प्रकाशित

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*