प्रा.डा. केसीद्वारा ११औँ पटक आमरण अनशन सुरु

काठमाडौं, ९ साउन । आफूले यसअघि गरेका अनशन तोड्दा सरकारले गरेको सहमति कार्यान्वयन नगरेको बताउँदै चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) त्रिवि शिक्षण अस्पतालका चिकित्सक प्रा.डा. गोविन्द केसीले आजदेखि फेरि अनशन सुरु गरेका छन् । यसपटक उनका ७ बुँदे माग छन् ।

यसअघि गत कात्तिक २८ गतेदेखि २२ दिन लामो अनशन बसेका डा. केसीको यो ११औं अनशन हो। अहिले उनी शिक्षण अस्पतालको गणेशमान सिंह भवनमा अनसन बसेका छन् ।

उनले पटकपटक आफ्ना माग पूरा गर्न सरकारलाई अल्टिमेटम दिँदै आफ्नो अनशनलाई स्थगित गर्दै आएका थिए।

अस्पतालमा पत्रकार सम्मेलन गरेर डा। केसीले अपराहृन ४ बजेबाट आमरण अनसन सुरु गरेको घोषणा गरेका हुन् । उनले आफ्नो अनसनका क्रममा शिक्षण अस्पतालको उपचार सेवा र क्याम्पसको पढाइ नरोक्ने बताएका छन् ।

डा. केसीले केदारभक्त माथेमा आयोगको प्रतिवेदनमा आफूहरूले दिएको सुझावलाई समेटेर ‘एकीकृत चिकित्सा शिक्षा ऐन’ बनाउन माग गरेका छन् । साथै त्रिविले खोसेको अधिकार आइओएमलाई नै फिर्ता गर्न, क्याम्पस प्रमुख र सहायक डिन नियुक्त गर्न र त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरुलाई कारवाही गर्नुपर्ने समेतका माग उनले गरेका छन् ।

पूर्वस्वास्थ्यमन्त्री गगनकुमार थापाको पहलमा डा केसीका माग सम्बोधन गर्ने वातावरण मिलाउन आज त्रिवि उपकुलपति र डा केसी पक्षबीच वार्ता भएको बताइएको छ । बिहान भएको छलफलमा त्रिवि उपकुलपति तीर्थ खनिया र डा केसी पक्षबीच वार्ता भए पनि सन्तोषजनक कुरा नभएको डा केसीका सहयोगी डा जीवन क्षेत्रीले बताए ।

चार सहायक डिन नियुक्त
आजै डा केसीको माग सम्बोधन गर्दै आइओएमले एक वर्षदेखि रिक्त सहायक डिन नियुक्त गरेको छ । प्रा डा राजेन्द्रप्रसाद गुरागार्इं, प्रा डा द्वारिकाप्रसाद श्रेष्ठ, प्रा डा मधु देवकोटा दीक्षित र प्रा डा मन्दिरा वन्तलाई सहायक डिनमा नियुक्त गरिएको हो ।

यस्तै महाराजगन्ज मेडिकल कलेजका प्रमुखमा प्रा डा प्रतापनारायण प्रसादलाई नियुक्त गरेको आइओएमले जनाएको छ । डा क्षेत्रीले आफूलाई यस विषयमा जानकारी नभएको बताए ।

उनले भने, “एक साता समय दिँदा पनि विश्वासको वातावरण बनेन, बिहानको छलफल आधिकारिक पनि नभएकाले यो विषयमा धेरै जानकारी भएन ।”

यसैबीच लामो समयदेखि संसद्मा विचाराधीन चिकित्सा शिक्षा विधेयकबारे छलफल गर्न व्यवस्थापिका–संसद्, महिला, बालबालिका तथा समाजकल्याण तथा ज्येष्ठ नागरिक समितिले डा भगवान कोइराला, प्रा केदारभक्त माथेमा र डा केसीलाई समेत बोलाएको राससले जनाएको छ ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*