अमीराको एक दिन

कथा /  उषा हमाल

आज पनि अमीरा सधैँजस्तो बिहान पाँच बजे उठिन् । नुहाइ–धुवाइ गरीवरी केही समय पूजाकोठामा धूपबत्ती र पूजापाठ गरेर भान्छामा पसिन् । लोग्नेका लागि कालो चिया लिएर कोठामा पस्दा उनी ल्यापटपमा अनलाइन खबरहरू पढ्दै रहेछन् । चियाको कप टेबुलमा राखिदिएर उनी भान्छामा फर्किन् । उनका छोरा, बुहारी र छोरी आ–आफ्ना लागि खाजा, चिया, कफी तैयार गर्दै, खाँदै गरेर हतार हतार आ–आफ्ना कामतिर हिँडे ।

अमीराले आफ्नो र लोग्नेका लागि खाना तयार गर्दै गर्दा डोर बेलको चर्को आवाज आयो र उनको एकाग्रता भाँचियो । उनको लोग्ने विनयका साथीहरू आएका रहेछन् । उनी तल झरिन् र गेट खोलिन् । उनीहरूका लागि चिया पकाउन भान्छातिर लागिन् । चिया लिएर बैठक कोठामा आउँदासम्म उनीहरू तासमा जुटिसकेका रहेछन् ।

अमीराले हतार हतार खाना खाइन् । लोग्नेको तासको खालबाट उठ्ने लक्षण नदेखेपछि उनलाई खाना हटकेसमा बन्द गरेर राखिदिइन् । आफू तयार भएर अफिस जान निस्कँदा गाडीले हर्न बजाउन थाल्यो । उनी हस्याङफस्याङ गर्दै पहिले नै गाडीमा रहेका सहकर्मीहरूलाई ‘सरी’ भन्दै गाडीभित्र पसिन् ।

अमीराको अफिस नेपाल सरकारको एउटा महत्वपूर्ण कार्यालय हो । यहाँ आजभोलि आर्थिक वर्षको अन्त्य नजिक आउँदै गरेको हुँदा कामको चाप निकै बढेको छ । थाति रहेका कार्यक्रमहरू सक्ने र सम्पन्न भैसकेका कार्यक्रमहरूको समीक्षा गर्ने कामको चटारो पनि यसै बेला परेको छ । कहिलेकाहीँ कार्यालय समयले नपुगेर बिहान–साँझको समय व्यतीत हुन्छ अफिसमा । बैठक चलिरहेका हुन्छन् । बैठक चलिरहेको समयमा खटिने कर्मचारीहरू त झनै रात साँझ पनि भन्न पाउँदैनन् ।

आज यही सन्दर्भमा महासचिवज्यूको कार्यकक्षमा सह–सचिवदेखि उप–सचिवहरू समेतको लामो छलफलसहितको बैठक सम्पन्न भयो । बैठकमा अवश्यकता अनुसार काम विभाजनको कुरा चल्यो । कुन–कुन शाखामा काम कति सम्पन्न हुन बाँकी छ भन्ने कुराको एकएक जानकारी महासचिवज्यू समक्ष सबैले पेस गरे । केही सहसचिवहरूले आफ्नो जिम्मेवारीअन्तर्गतको काम सम्पन्न गर्न लास्टै ढिला गरेको बुझियो । अमीराको भागमा रहेको काम समयभित्रै सफलतापूवर्क सम्पन्न भएकाले महासचिवज्यू अमीरासँग औधि प्रभावित हुनुभयो र पुरस्कारस्वरूप अरू केही शाखाबाट सम्पन्न हुन नसकेका कामहरू पनि अमीरालाई नै थोपरी दिनुभयो ।

अब उनलाई कामको थप बोझ पर्न आयो, यद्यपि यो उनको कार्यदक्षताको रिकग्निसन पनि हो र उनी खुसी नै भइन् । अब थप कामको प्रक्रिया अघि बढाउनुपर्ने हुँदा उनको व्यस्तता बढ्ने निश्चित भयो । यसरी महत्वपूर्ण जिम्मेवारी सुम्पेकोमा महासचिवज्यूलाई उनले धन्यवाद दिइन् र आफूले सक्दो जिम्मेवारी निभाउने कुरामा विश्वस्त गराइन् ।

अमीरा बैठकबाट सरासर आफ्नो कार्यकक्षतिर पसिन् । कार्यालय सहयोगीले उनलाई चिया ल्याएर दिए । चिया पिउँदै उनी कम्प्युटरमा व्यस्त हुन थालिन् । कम्प्युटरमा डकुमेन्टहरू पढ्दापढ्दै कसो–कसो उनको ध्यान इन्टरनेटतिर तानियो । केही इमेलहरू हेरिन् र जवाफ लेखिन् । फेरि उनको ध्यान फेसबुकतिर तानियो । त्यसो त उनको फेसबुकप्रति क्रेज बढेको छैन । कहिलेकाहीँ फुर्सदमा हेरी पनि दिन्छिन् र हेर्नैपर्ने अनिवार्यतामा फेसबुक पर्दैन पनि ।

कार्यकक्षमा बसेर गर्नुपर्ने नयाँ कामहरूबारे महासचिवज्यू समक्ष उनले ब्रिफिङ गर्नुपर्नेछ आज नै । त्यसैले उनीभन्दा अघि त्यो शाखामा काम गर्ने हरिहर बास्तोलासँग छलफल गर्न उनी उनको कार्यकक्षमा पसिन् । सम्पन्न हुन बाँकी कामहरूबारे केही छलफल भयो तर हरिहर बास्तोलाले उनलाई व्यङ्ग्यात्मक भावमा बधाई दिए र भने, ‘लौ अमीराजी ! मोज गर्नुस् । तर काम त सजिलो छैन है । घर व्यवहारमा बाधा पर्ला नि ।’ मुखसम्म आएको तीतो जवाफ पचाएर अमीरा त्यहाँबाट निस्किन् ।

अब त्यो शाखाबाट तत्काल गर्नुपर्ने कामको विवरण लिएर उनी महासचिवज्यूको कार्यकक्षमा प्रवेश गरिन् । सार–संक्षेपमा आफ्ना कुरा राखेर त्यहाँबाट बाहिरिँदा खाजाको समय भएको रहेछ ।

उनी कार्यालय भवनपछाडि रहेको क्यान्टिन परिसरमा पसिन् । क्यान्टिनको आँगनमा राखिएका टेबुल प्रायः भरिएका रहेछन् । क्यान्टिन सुविधाजनक भएकाले वरपरका अफिसबाट पनि यसरी कर्मचारीहरू यहाँ खाजा खान झुम्मिन्छन् र अर्को कुरा खानामा छनोटको अवसर पनि भएकाले यस क्षेत्रभित्रका अरू कार्यालयका कर्मचारीहरू पनि यहाँको क्यान्टिनमा आएर खाजा खान मन पराउँछन् ।

उनी आफ्ना सहकर्मी सह–सचिवहरू बसेर खाइरहेको टेबुलमा पुगिन् र उनीहरूसँगै गफमा प्रसङ्ग मिलाउँदै खान थालिन् । कार्यालयमा जिम्मेवारीको हेरफेर बारे प्रसङ्ग चल्यो । कसलाई के कुरा चित्त बुझेन, योबारे कुरा चल्यो । एक–दुईजनाले व्यङ्ग्य हाने– ‘लौ अमीराजी ! देश तपाईंकै हातमा छ । देश उँभो लगाउने कामहरू समयमा पूरा गराउनुहोस् ।’ अरूले हो मा हो थपे– ‘दिन त महिलाकै छन् नि ।’

हो न हो, यो थप जिम्मेवारी उनले महिला भएको फाइदा उठाएर पाएकी हुन् ! उनको योग्यता, क्षमता, दक्षता र पदको कुनै मूल्य छैन !!
यस्ता बकम्फुसे व्यङ्ग्य सुन्ने बानी लागिसकेकी उनले यो कुरा हाँसोमा उडाइन् । दिनमा दुई–चार कटाक्षले अब छुन छोडे । बरु कटाक्ष नआएको दिन पो अनौठोे त । व्यङ्ग्य, कटाक्ष त संस्कारको रूपमा विकसित भएको छ कार्यलयमा, समाजमा जताततै । जसले आफूलाई यस्तै वातावरणमा भिजाउँदै गयो, उ मात्र फिट हुनसक्छ । यो कुरा उनले बुझिसकेकी छन् ।

निश्चित समयमा अफिसबाट निस्किए पनि उनी सरासर घरतिर नलागेर नक्सालतिर लागिन् । नक्सालमा रहेको जेठाजुको घरमा उनलाई नगई भएको छैन । त्यहाँ लाखबत्ती बाल्ने र सप्ताह लगाउने तयारी भैरहेको छ । उनले ड्राइभरलाई गाडीमा रहेका अरू सहकर्मीहरूलाई यथास्थानमा पु¥याएर आफूलाई करिब दुई घण्टापछि पिकअप गर्न भनिन् र आफू जेठाजुको घरको गेटभित्र पसिन् ।

त्यहाँ आफन्तहरूको जमघट चहलपहल निकै बढेको रहेछ । सबैलाई यथायोग्य ढोग गर्दैमा भलाकुसारी गर्दैमा निकै समय खर्चियो । सबैले उनको लोग्नेकै बारेमा चासो राखे । जेठाजुले भने– ‘हिजो नै विनय यहाँ आउनुपथ्र्यो । किन नआएको ?’ जेठानी पड्किइन्– ‘खै, देवरको अनुहार देखिएन ।’ काकी सासु त्यसै कराइन्– ‘खै, एक्लै आएकी तिमी ?’ देवरले दाजु देख्न नपाएर आफू हुरुक्कै भैरहेको गुनासो गरे ।

देउरानीले अमीरातिर कुटिल हाँसो फ्याँक्दै लगाइरहेको सेतो पावरदार चस्मा चोर औंलाले माथितिर ठेल्दै लामो लेग्रो तानेर बोलिन्– ‘दा आ आ आ जु किन नआउनुभएको नि ?’

अमीराले कुरा बनाउनु पर्यो– ‘हिजो पनि उहाँको कम्पनीमा आकस्मिक काम पर्यो । शानिवार नभनेर उहाँ त्यतै लाग्नुभयो ।’ यसरी हिजो दिउँसोभर तास र खेलहरूमा छिल्लिरहेको उनको लोग्नेको इज्जत पनि उनैले जोगाउनु प¥यो । ‘ए, हो र ? उ त शनिवार पनि अफिस गएछ,’ सबैको विनयप्रति सहानुभूति पोखियो । अमीराप्रति कसैको चासो देखिएन । ‘यसरी आफिस सकेर पनि तिमी आयौं नि त’ कसैले भनेन । सबैलाई उनी हैन विनय चाहियो । काम उनको चाहिए पनि उपस्थिति विनयको नै चाहियो किनभने उ आफ्नो सन्तान, आफ्नो रगत हो । यस्तो महत्वपूर्ण कार्यमा कहाँ उसको उपस्थिति नभएर हुन्छ ?

अमीरा जेठाजुको घरको भान्सामा पसिन् । चियाको समय भयो । सबैतिरबाट चिया पिउने इच्छा जाहेर भयो । उनले चिया बनाएर सबैलाई दिइन् । पात सिन्का गाँस्ने काम हुँदै रहेछ र उनले फटाफट केही दुना टपरी गाँसिन् ।

बाहिर गाडीले हर्न बजायो । अब उनलाई सबैसँग विदा हुनुपर्यो । व्यङ्ग्य चल्दै रह्यो– ‘कस्तो सजिलो ? मुख देखाए पुग्ने ! गाडी भए त यस्तो सजिलो पो हुँदो रहेछ । जागिरे भएपछि यस्तै हो ।’ अमीरा हाँसी मात्र रहिन् र फटाफट गाडीभित्र पसेर घरतिर हानिइन् । बाहिर निस्कँदा अँध्यारो व्याप्त भैसकेको रहेछ । यो अँध्यारोले उनलाई त्यसैत्यसै गाँज्यो । त्यसमाथि यस्ता प्रतिकूल परिस्थितिको सामना गर्नुपर्दा उनमा एक्लोपन र थकाइ महसुस भैरह्यो ।

‘यी आफन्तहरू, घरतिरका आफ्नै नातेदारहरूले गर्ने व्यवहारमा कस्तो पराईपन छ । कहिले उनीहरू आफ्ना हुन सकेनन् । म विनयका लागि उनीहरू प्रति कर्तव्य मात्र गर्दैछु । मैले कहिले अपनत्व पाउँछु उनीहरूबाट खै ?’ उनको मन साह्रै नै दुख्यो र माइतीको आत्मीयता सम्झेर आँसु बगाउन मन लाग्यो तर कतै आफ्नो यो कमजोर मानसिकताको अनुमान गाडीचालकले नलगाओस् भनेर सतर्क भइन् र झ्यालको सिसाबाट बाहिर हेरिन् । सडकतिर व्याप्त अँध्यारोमा भुस्याहा कुकुरहरू एकै डल्लो परेर रोइरहेका रहेछन् ।

अमीरा घर पुग्दा करिब आठ बजिसकेछ । लोडसेडिङको अँध्यारो व्याप्त छ । इनभर्टरको स्विच अन गरेर कोठा उज्यालो बनाइन् । लुगा फेरी हात मुख धोएर पूजाकोठामा पसेर धूपबत्ती गरिन् । भान्सामा छोरा, बुहारी मिलेर खाना पकाउँदै रहेछन् । प्रायः उनीहरू घरको काममा यसरी एकले अर्कालाई सघाउँछन्, लोभलाग्दो गरी । ‘विनयका बाबुले छोराबाट यो गुण सिकी दिए त मेरो संसार बदलिन्थ्यो । अफिस जाने समयमा अलिकति भान्छाको धन्दामा मात्र सघाइ दिए पनि आफूले कम से कम ड्राइभरका अगाडि, सहकर्मीहरूका अगाडि सरी त भन्नुपर्ने थिएन,’ उनी मनमनै कल्पिइन् ।

खानाको टेबुलमा नक्साल जेठाजुको घरमा भैरहेको लाखबत्ती पूजाको तयारीबारे चर्चा चल्यो । आफू त्यहाँ पुग्दा भएको विनयको खोजीबारे उनले जानकारी दिइन् । शनिबारको दिन लोग्ने त्यहाँ नपुगेको सजाय आफूले झुठ बोलेर भोग्नुपरेको गुनासो गरिन् । लोग्ने यदि तास र बियरमा झल्लेको सही कुरा बोलेको भए पनि दोष आफैँलाई आउँथ्यो । स्वास्नीको कमजोरीले विनय लफङ्गियो भन्थे । स्वास्नीले नै नियन्त्रण गरेर राखी जस्ता कटाक्ष गर्थे । लोग्ने लफङ्गियो भने इज्जत स्वास्नीको गएको पो मानिन्छ । ‘त्यहाँ झुठ बोल्नु बाहेक उपाय पनि त थिएन,’ उनले गुनासो गरिन् । छोराले आमाको कुरामा समर्थन जनायो तर लोग्ने केही बोलेनन् । छोरीको कानमा यो कुराको हावा पसेन । बुहारी त विस्तारै घरतिरको चालचलन बुझ्दैछे । उसलाई यी वाहियात, अनप्रोडक्टिभ विषयमा मतलब पनि छैन ।

अमीरा थाकेको चुर शरीर लिएर ओच्छ्यानमा पल्टिइन् । छेउमा उनका लोग्ने चलमलाए । उनले आफ्नो  शरीरमाथिको आप्mनो अधिकार गुमाउँदै गइन् ।

 सोमबार, ८ जेठ २०७४ मा प्रकाशित

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*