मेयर पदमा चार महिला निर्वाचित

काठमाडौं, ६ जेठ । स्थानीय तहको निर्वाचनअन्तर्गत पहिलो चरणमा ९२ नगरपालिकाका मेयर पदका लागि भएको चुनावमा अहिले (शनिबार ६ जेठ) सम्म चार स्थानमा महिला उम्मेदवार निर्वाचित भएका छन् ।

पछिल्लोपटक, चार हजारभन्दा बढी फराकिलो मत अन्तरले निकटतम प्रतिद्वन्द्वीलाई पराजित गर्दै नेकपा एमाले पार्टी उम्मेदवार प्रभा बराल चितवनको राप्ती नगरपालिकाको मेयर पदमा निर्वाचित भएसँगै चौथो महिला मेयर भएकी छन् । उनले ११,६१३ मत प्राप्त गरिन् भने निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका किरणभूषण ओलीले ७२९२ मत प्राप्त गरे ।

मेयर पदसहित एमाले ले राप्ती नगरपालिकामा उपमेयरलगायत बहुमत वडामा विजय हासिल गरेको हो । उपमेयरमा ११,८८२ मत ल्याई इमानसिंह लामाले निकटतम प्रपतद्वन्द्वी नेपाली कांग्रेसकै अनीता मैनाली (७०७४मत) लाई पराजित गरेका हुन् ।

राप्ती नगरपालिकको मेयरमा निर्वाचित प्रभा बराल एमालेको वर्गीय संगठन अनेमसंकी केन्द्रीय सदस्य हुन् भने उनी भरतपुर क्यान्सर अस्पतालकी पूर्व बोर्ड सदस्य पनि हुन् ।

बरालभन्दा पहिले स्याङ्जाको पुतलीबजार नगरपालिकाको मेयरमा सीमा क्षेत्री, नवलपरासीको कावासोती नगरपालिकाको मेयरमा चन्द्रा पुन र जुम्लाको चन्दनाथ नगरपालिकाको मेयरमा कान्तिका सेजुवाल निर्वाचित भइसकेका छन् । निर्वाचित चार महिला मेयरमध्ये कान्तिका सेजुवाल नेपाली कांग्रेस पार्टीको उम्मेदवार र अन्य तीनजना क्रमशः प्रभा बराल, सीमा क्षेत्री र चन्द्रा पुन एमाले पार्टीका उम्मेदवारका रूपमा विजयी भएका हुन् ।

उल्लेखनीय के छ भने, कान्तिका नेपालकै पहिलो महिला मेयर बन्न सफल भएकी हुन्। उनलेआफ्ना निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका शान्तिलाल महतलाई ७११ मतले पराजित ग रेकी हुन्। जम्मा १० वटा वडा रहेको नगरपालिकामा कान्तिकाले २७७७ मत प्राप्त गरेकी थिइन्।

कान्तिकाका श्रीमान मानव सेजुवाल नेपाली कांग्रेसमा सक्रिय थिए । विसं २०७१ सालमा काठमाडौंबाट नेपाल एयरलाइन्सको विमानबाट जुम्ला जाने क्रममा विमान दुर्घटनामा परी उनको निधन भएको थियो। दुईवटा विषयमा स्नातकोत्तर गरेकी ४५ वर्षीय कान्तिका जुम्लाको सामुदायिक स्कुल कर्णालीकी शिक्षिका पनि हुन्। उनका दुई छोरी र दुई छोरा छन् ।

तस्बिर–  कान्तिका सेजुवाल, नेपालकी प्रथम महिला मेयर

जेठ ६, २०७४ मा प्रकाशित

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*