अबदेखि जेठ ८ गते राष्ट्रिय भलिबल दिवस

भलिबल संघको बार्षिक कार्यक्रम सार्वजनिक

खेल संवाददाता

काठमाडौं  । भलिबललाई राष्ट्रिय खेल घोषणा गरिएको दिन जेठ ८ गतेलाई अबदेखि हरेक वर्ष राष्ट्रिय भलिबल दिवसका रूपमा मनाइने भएको छ । नेपाल भलिबल संघले शनिबार राजधानीमा आयोजित कार्यक्रममा आर्थिक वर्ष २०७४÷०७५ को वार्षिक कार्यक्रम सार्वजनिक गर्दै यो घोषणा गरेको हो ।

नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जन रमन शर्मालको अध्यक्षतामा भएको कार्यक्रममा संघका महासचिव जितेन्द्रबहादुर चन्दले विभिन्न २७ बुँदासहितको कार्यक्रम सार्वजनिक गरेका हुन् ।

घोषित कार्यक्रमअनुसार, संघले असार महिनामा राष्ट्रिय पुरुष तथा महिला टोलीको सम्मान गर्ने भएको छ । त्यस कार्यक्रममा एभिसी सेन्ट्रल जोन प्रतियोगितामा सहभागी खेलाडीलाई सम्मान गरिने छ ।

वार्षिक कार्यक्रममा नेपाल र डेनमार्कको भिदोवर क्लबसँगको मैत्रीपूर्ण खेललाई पनि समावेश गरिएको छ । दुई टोलीबीचको मैत्रीपूर्ण खेल असोजमा काठमाडौंमा आयोजना हुनेछ ।

संघले पहिलो पटक यू–१८ महिला तथा पुरुष अन्तर विद्यालय भलिबल प्रतियोगिता गर्ने घोषणा गरेको छ भने अन्तर–कलेज भलिबल प्रतियोगितालाई पनि यही आर्थिक वर्षमा आयोजना गर्ने जनाएको छ ।

घोषित कार्यक्रममा विद्यालयस्तरदेखि राष्ट्रिय एवं अन्तर्राष्ट्रिय प्रतियोगिताका साथै रेफ्री र प्रशिक्षकका लागि पनि कार्यक्रम निर्धारण गरिएको छ, जसमा साउन महिनामा प्रशिक्षकहरूका लागि रिफ्रेसर कोर्स सञ्चालन गरिने भएको छ भने पुसमा सबै विकास क्षेत्रमा रेफ्री रिफ्रेसिङ कोर्स सञ्चालन गर्ने भएको छ ।

भलिबल राष्ट्रिय खेल घोषणा भएकोले अब उप्रान्त देशभरि भलिबलसम्बन्धी विभिन्न कार्यक्रम सञ्चालन गर्न जिल्ला संघहरूलाई परिचालन गरिने जनाएको छ ।

     जेठ २९, २०७४ मा प्रकाशित

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*