सुपरस्टार राजेश कति वर्षका भए ? ५३, ५७ कि ५९ ?

काठमाडौं । नायक राजेश हमाल कति वर्षका भए होलान् ? फेसबुक (सामाजिक सञ्जाल) भन्छ– उनी शुक्रबार जेठ २६ गतेदेखि ५३ वर्षका भए । त्यस दिन नै फेसबुकले उनको ५३ औं शुभ जन्मदिन भनेर राखिदिएको थियो । सबैलाई विदितै भएको विषय के हो भने सामाजिक सञ्जालमा राखिने उमेर आफैं मनलाग्दी भरिने विषय हो । जेहोस्, राजेश त्यस दिन आफ्नो ५३ औं जन्मदिन मनाउँदै थिए ।

लगातार तीन दशकभन्दा बढी समय नेपाली फिल्मनगरीमा गुजारिसकेका राजेशले यो बीचमा निरन्तर आफ्नो फिजिकल फिटनेस र सेप सन्तुलनमा राख्दै आएका छन् । हुनसक्छ, यो पनि एउटा कारण हो जसले उनलाई सधैँ ‘ह्यान्डसम यङ गाइ’ को लुक्स दिन धेरै सघाउँछ होला ।

यसो वा उसो जे भए पनि राजेशको उमेर कति हो भन्ने सम्बन्धमा फिल्म क्षेत्रमा प्रत्येक वर्ष चर्चा–परिचर्चा हुनेगर्छ, खासगरी उनको जन्मदिनको समयचक्र ३६४ दिन घुमेर फेरि उही बिन्दुमा आइपुगेको बेलामा । यो कारणले गर्दा के आश्चर्य मान्नुपर्दैन भने जबर्जस्त फ्यान फलोइङ भएका राजेशका फ्यानहरू फेसबुकमा उनले चढाएकै उमेर पत्याउछन् पनि होला । तर राजेशका सहपाठीहरू भने उनले उल्लेख गरेको उमेर पत्याउन तयार छैनन् ।

वरिष्ठ संगीतकार शम्भुजीत बास्कोटा हमालको जन्मदिन ५३ होइन, ५९ हुनुपर्ने धारणा राख्छन् । बास्कोटाका अनुसार, उनीहरू दुवैको उमेर एउटै हो । भन्छन्, ‘म २०१५ सालको हुँ, राजेश पनि त्यही सालको हो ।’ उनको ठोकुवा छ, ‘राजेश ५९ वर्ष नै पुगिसके ।’

शम्भुजीतको मूल तर्क हो– राजेश र उनी बाल्यकालका साथी हुन् र स्कुल पनि सँगै–सँगै एउटै कक्षामा पढेका थिए । त्यसो त २०१५ सालमा जन्मेका नायक भुवन केसी समेत राजेश र आफ्नो उमेर उत्ति नै भएको बताएर शम्भुजीतको तर्कलाई प्रमाणित गर्न खोज्छन् ।

राजेशका एकजना लंगोटिया मित्र युवराज लामाका अनुसार चाहिँ राजेश यस वर्ष ५७ वर्षका मात्र भए । लामाका अनुसार राजेश ०१७ सालका हुन् । भन्छन्, ‘मभन्दा राजेश एक वर्ष कान्छो हो । म २०१६ सालको र ऊ ०१७ को ।’

५३ वर्ष पुगे पनि, ५७ भए पनि वा ५९ नै नाघे पनि सुपरस्टार राजेश हमाललाई  जन्मदिनको हार्दिक  शुभकामना । (केन्द्रबिन्दु)

    जेठ २९, २०७४ मा प्रकाशित

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*