निर्वाचनको पूर्वसन्ध्यामा प्रधानमन्त्रीको अपिल

 काठमाडौं, ३० वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शनिबार अपरान्ह एक अपिल जारी गर्दै स्थानीय तहको ऐतिहासिक चुनावमा सक्रिय रुपमा भाग लिई आफ्नो सार्वभौम मताधिकारको प्रयोग गर्न सबै मतदातालाई आह्वान गरेका छन् । पहिलो चरणको स्थानीय तहको चुनाव आइतबार ३१ वैशाखमा हुँदैछ ।

शान्ति सुरक्षाको दृष्टिले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सरकारले दरिलो र भरपर्दो सुरक्षा प्रबन्ध मिलाएको भन्दै भय र संकोच विना निर्धक्क भई आफुले चाहेका उम्मेदवारहरुलाई मत खसाली ऐतिहासिक अवसरको सदुपयोग गर्न प्रधानमन्त्री प्रचण्डले सबै मतदातालाई अनुरोध गरेका छन् ।

प्रधानमन्त्री प्रचण्डले भोलि (३१ वैशाख) केवल मतदानको दिन मात्र नभई नेपाली लोकतान्त्रिक इतिहासको महाउत्सवको दिन पनि रहेको भन्दै सबैलाई उत्साहका साथ सहभागी हुन आग्रह गरेका हुन् ।

पहिलो चोटि नेपालको संविधानले नेपालको सार्वभौम अधिकार नेपाली जनतामा निहित गरेको तथा लोकतन्त्रमा जनताले आफ्नो सार्वभौम अधिकारको प्रयोग गर्ने माध्यम नै निर्वाचन भएको भन्दै आफ्नो निर्णायक शक्तिको प्रयोग चुनावमार्फत् गर्न पनि उनले आग्रह गरेका छन् ।

आफ्नो अपिलमा प्रधानमन्त्री प्रचण्डले नेपाली जनताले प्राप्त गरेको सार्वभौम अधिकारको प्रयोग गर्ने पहिलो अवसरका रुपमा रहेको स्थानीय तहको निर्वाचन शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पु¥याउने कडीका रुपमा पनि रहेको भन्दै लामो समयदेखि जरा गाडेको एकात्मक र केन्द्रीकृत राज्यसत्ताको अन्त्य गरी संघात्मक शासन व्यवस्थाको स्थापनाका लागि एउटा कोसेढुंगाका साबित हुने उल्लेख गरेका छन् ।

चुनावबाटै सिंहदरबार केन्द्रित अधिकार र स्रोतसाधनलाई जनताको घर आँगनसम्म पुर्याउनका लागि ढोका खुला हुने विश्वास पनि उनले व्यक्त गरेका छन् ।

प्रधानमन्त्री प्रचण्डले निर्वाचन प्रयोजनमा खटिएका राष्ट्रसेवक कर्मचारी, शिक्षक, सुरक्षाकर्मीसहित सबैलाई संयमतापूर्वक आफ्नो जिम्मेवारी पूरा गर्न तथा राजनैतिक दल, संचारकर्मीलगायतलाई आ—आफ्नो क्षेत्रबाट सहयोग गर्नका लागि पनि अपिल गर्नुभएको छ । उहाँले आगामी जेठ ३१ गतेका लागि निर्वाचनको मिति तय भएका प्रदेश नं १, २, ५ र ७ का जनसमुदायलाई आफ्ना जनप्रतिनिधि चुन्ने कार्यको तयारीमा सक्रियतापूर्वक लाग्न पनि विशेष अपील गरेका छन् ।

प्रधानमन्त्रीद्धारा जारी अपिलमा स्थानीय तहको निर्वाचनमा अन्तराष्ट्रिय समुदायबाट प्राप्त सहयोग र समझदारीप्रति आभार व्यक्त गर्दै आगामी दिनमा सहयोग र सदभाव कायम रहने अपेक्षा गरेका छन् ।

पहिलो चरणमा भोली बैशाख ३१ प्रदेश नं ३, ४ र ६ अन्तर्गत ३४ जिल्लाका २८३ स्थानीय तहमा जनप्रतिनिधि छनौट गर्नका लागि मतदान हुदैछ ।

प्रधानमन्त्री प्रचण्डले जारी गरेको अपिलको पूर्ण पाठ –

 

 

 

 

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*