ब्राजिल रेकर्ड पाँचौँपटक विश्व बीच फुटबल विजेता

बहामाज । कीर्तिमान कायम गर्दै ब्राजिलले पाँचौँपटक विश्व बीच फुटबल च्याम्पियनसिपको उपाधि जितेको छ । क्यारेबियन मुलुक बहामाजको राजधानी नासाउस्थित नेसनल बीच सकर एरेनामा भएको फाइनलमा ब्राजिलले अर्को फाइनलिस्ट टाहिटीलाई ६–० गोल अन्तरले पराजित गरेको हो । गत मे ७ मा पराजित भएपछि टाहिटी दगातार दोस्रोपटक उपविजेतामा थन्किन बाध्य भएको हो ।

हाफटाइमसम्म ब्राजिल २–० ले अगाडि थियो ।

विजेता दक्षिण अमेरिकी टोलीलाई गोलको खाता खोल्न केवल १४ सेकेन्ड कुर्नु पर्यो । टाहिटीको क्षेत्रमा बिजुली सरह दौडेका मौरिसिन्होले पहिलो गोल गरे भने उनकै पासमा दातिन्हाले स्कोरलाई दोब्बर पारे ।
टाहिटीका लागि पहिलो गोल गर्ने सुनौलो अवसर तेभा जाभारोनीले पाएका थिए तर ब्राजिलको बलियो ब्याकलाइनले उनलाई सफल हुन दिएन ।

दोस्रो हाफमा मौरिसिन्होले सुन्दर राइट फुटेड गोल गर्दै आफ्नो दोस्रो र स्कोर ३–० पुर्याए । ब्राजिलका लागि चौथो क्याटारिनोले र पाँचौँ तथा छैटौँ गोल डेनियलले गरे ।

इरानलाई तेस्रो स्थान

तेस्रो स्थानका लागि भएको प्रतिस्पर्धामा इरानले इटालीलाई ५–३ ले पराजित गर्दै कुनै पनि एसियाली मुलुकले हालसम्म हासिल गर्न नसकेको सफलता हात पार्यो । इटाली पनि लगातार दोस्रोपटक चौथो स्थानमा सीमित हुुन पुगेको हो ।

समूह चरणमा यी दुई टोलीबीच भिडन्त हुँदा इटाली ५–४ ले विजयी रहेको थियो । त्यतिबेला पहिलो गोल इटालीले नै गरेको थियो भने तेस्रो स्थानका लागि भएको भिडन्तमा गोलको खाता इरानले खोलेको थियो ।

इटालीका ग्याब्रियल गोरी प्रतियोगिताका सर्वाधिक गोलकर्ता बने । उनले १७ गोल गरे । एउटै प्रतियोगितामा उनले भन्दा बढी गोल पोर्चुगालका लिजेन्ड स्ट्राइकर माजरले सन् २००६ मा २१ गोल गरेका थिए ।

पुरस्कार
एडिडास गोल्डेन बल – मोहम्मद अहमदजादेह (इरान)
एडिडास सिल्भर बल – मौरिसिन्हो (ब्राजिल)
एडिडास ब्रोन्ज बल – दातिन्हा (ब्राजिल)

एडिडास गोल्डेन स्कोरर – ग्याब्रियल गोरी (इटाली)
एडिडास सिल्भर स्कोरर – रोड्रिगो (ब्राजिल)
एडिडास ब्रोन्ज स्कोरर – मोहम्मद अहमदजादेह (इरान)

एडिडास गोल्डेन ग्लोभ– पेयमन होसेन

फेयर प्ले अवार्ड– ब्राजिल
वैशाख ३०, २०७४ मा प्रकाशित, एजेन्सी

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*