पति–पत्नी नै उम्मेदवार : चुनाव जित्ने दुवैको दाबी !

रुकुम, १० कात्तिक ।

पूर्वसांसद जुनकुमारी रोका रुकुम (पूर्व) बाट प्रतिनिधिसभा सदस्यका लागि माओवादी केन्द्रबाट समानुपातिक बन्दसूचीमा परेकी छिन् भने उनका पति तेजबहादुर ओली माओवादीबाटै प्रदेशसभा सदस्य उम्मेदवार बनेका छन् ।

जुनकुमारी २०६४ सालमा तत्कालीन रुकुम निर्वाचन क्षेत्र नं. १ बाट संविधानसभा सदस्यमा निर्वाचित भएकी थिइन् । उनी नेकपा माओवादी केन्द्रको पोलिटब्युरो सदस्य हुन् ।

यसपटक एमाले–माओवादी गठबन्धले सोचेजस्तै नतिजा प्राप्त गरे मन्त्री सम्म बन्ने दाउमा जुनकुमारी छिन् । रुकुम माओवादीको प्रभावक्षेत्र भएकाले जित सुनिश्चित भएको उनले बताइन् । जुनकुमारीका पति ओली यस क्षेत्रमा पार्टी इन्चार्ज छन् । स्थानीय तहको चुनावमा महत्त्वपूर्ण भूमिका निवार्ह गरेका ओली कूटनीतिक र रणनीतिक नेताका रुपमा परिचित छन् ।

पार्टी र समाजले आफूहरूलाई रुचाएकाले राजनीतिमा सफल भएको उनीहरूको भनाइ छ । निरन्तर आन्दोलन, जनताको सेवाले नै आफूहरू उम्मेदवारका लागि योग्य भएको ओलीले बताए ।

‘अविचलित भई पार्टीमा काम गर्दा सफल भइँदोरहेछ’ उनले भने, ‘यो हाम्रो मेहनतको पहिलो खुट्किला पनि हो ।’

अहिले दुवैजना चुनाव प्रचारप्रसारमा छन् ।

‘हामी श्रीमान् श्रीमती भन्दा इमानदार र कर्तव्यनिष्ठ कार्यकर्ता भएकाले उम्मेदवार भएका छौं’ ओलीले भने, ‘हामी दुवैजनाको त्याग तपस्या र लगानी पार्टीले बुझेको छ,’ जुनकुमारीले थपिन्, ‘लामो समय देखि पार्टीमा इमानदार भएर काम गरेका थियौं । त्यसैको मूल्यांकन पार्टीले गरेको छ ।’

यो उम्मेदवारीलाई पारिवारिक भन्दा पार्टीगत रुपमा हेर्नुपर्ने उनको भनाइ छ । – नागरिकबाट

शुक्रबार, कात्तिक १०, २०७४ मा प्रकाशित

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*