पशुपति शमशेर दसौं पटक चुनावी मैदानमा, भन्छन्– ‘यो अन्तिम पटक’

सिन्धुपाल्चोक, १० कात्तिक ।

२०४७ को राजनीतिक परिवर्तन पछि लगातार छैटौं पटक चुनावी मैदानमा उत्रिँदा पञ्चायती हस्ती एवं राप्रपा (प्रजातान्त्रिक) का अध्यक्ष पशुपतिशमशेर राणा यसपटक ‘बदला’ लिने दाउमा छन् । राणा कांग्रेस–राप्रपा सम्मिलित लोकतान्त्रिक गठबन्धनका तर्फबाट सिन्धुपाल्चोक–२ मा प्रतिनिधिसभा सदस्यको प्रतिस्पर्धामा उत्रिएका छन् ।

तत्कालीन क्षेत्र नं. ३ बाट लगातार ०४८, ०५१ र ०५६ का संसदीय चुनाव जितेका उनी संविधानसभाका दुवै निर्वाचनमा पालैपालो माओवादी र एमाले उम्मेदवारसँग पराजित भएका थिए । अहिले त्यतिबेला उनलाई हराउने दलले गठबन्धन गरी साझा उम्मेदवार प्रस्तुत गरेका छन् ।

कांग्रेससँग गठबन्धन बने पछि उत्साही पशुपतिशमशेर राणा ‘प्रत्यक्ष निर्वाचन लड्ने यो पटक अन्तिम’ भन्दै प्रतिस्पर्धामा होमिएका छन् । त्यसैले उनी वाम गठबन्धनलाई हराएर एकैपटक बदला लिँदै पुरानो साख फर्काउने दाउमा देखिएका हुन् । आफ्नो पुरानो पकड रहेको क्षेत्रमा कांग्रेसको मत थपिएपछि चुनाव जित्नेमा उनी विश्वस्त छन् ।

राणाले २०३१ मा तत्कालीन थुम्पाखर गाउँ पञ्चायतको उपप्रधानपञ्च जितेर राजनीति सुरु गरेका हुन् । त्यहाँ घरघडेरी जोडेर जिल्लावासीको हैसियतमा राजनीति थालेकै वर्ष उनले सिन्धुपाल्चोक जिल्ला पञ्चायतको उपसभापति हुँदै राष्ट्रिय पञ्चायत सदस्य जिते । त्यसपछि २०५६ को संसदीय चुनाव सम्ममा उनी दोस्रो हुनु परेन । उनले २५ वर्षसम्म एकछत्र राज गरे ।

तेस्रोपल्ट संसदीय चुनाव जितेको साल उनले रजत उत्सव समेत मनाए ।

२०३१ पछि २०३४, २०३८ र २०४३ मा भएका राष्ट्रिय पञ्चायत चुनावमा उनी लगातार विजयी भएका थिए। २०४७ पछि जिल्लाको क्षेत्र नम्बर ३ लाई चुनावी क्षेत्र बनाए पनि उनले क्षेत्र नं. १ नम्बर बाट समेत उम्मेदवारी दिन्थे । १ बाट पराजित भए पनि ३ नम्बरबाट उनले लगातार संसदीय निर्वाचन जिते । २०६४ को संविधानसभा निर्वाचनसम्म १ नम्बरबाट पनि उम्मेदवारी दिँदै आएका उनले २०७० मा भने यो क्षेत्र छाडेका थिए। – नागरिरकबाट

शुक्रबार, कात्तिक १०, २०७४ मा प्रकाशित

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*