रेसुङ्गा विमानस्थलमा वैशाखभित्र परीक्षण उडान गरिने

तम्घास (गुल्मी), ६ मंसिर ।

निर्माणाधीन जिल्लाकै पहिलो रेसुङ्गा विमानस्थलमा आगामी वैशाख भित्र परीक्षण उडान हुने भएको छ ।

जिल्लाको सिमीचौरस्थित उक्त विमानस्थलमा १२ वर्ष अघि सर्वेक्षण पूरा भई निर्माण कार्य शुरु भए पनि पर्याप्त बजेट विनियोजन हुन नसक्दा परीक्षण उडानमा ढिलाइ भएको हो ।

कुल ७६ रोपनी ६ आना जग्गामा रहेको सो विमानस्थलमा पर्खाल सम्याएर फिल्ड तयारी गर्ने र छ हजार ५०० घनमिटर ग्राभेलको जिम्मा लिएका सुनिल–समिर निर्माण सेवा प्रालिले हालसम्म चार हजार ५०० घनमिटरको काम पूरा गरेको छ ।

आउँदो पुस ९ गते सम्मका लागि तीन करोड १८ लाखको ठेक्क पाएको सो कम्पनीका अध्यक्ष नारायण पोखरेलले विमानस्थलका लागि आवश्यक ३० मिटर रन्वे अपुग हुने देखिएकाले सोका लागि उपभोक्ता समितिले जग्गा अधिग्रहण गरिदिनु पर्ने र अधिग्रहण भइसकेका केही घरधनीले स्थान नछाडेकाले कटिङको काममा ढिलाइ भएको बताए ।

विमानस्थलका लागि गठित उपभोक्ता समितिका अध्यक्ष मधुकृष्ण पन्थीले अधिग्रहणको कार्य लगभग पूरा भएकाले यसै वर्षको अन्त्य सम्ममा कच्ची धावनमार्ग तयार हुने जानकारी दिए । उनले बजेट अभावमा समयमा काम हुन नसकेको पनि बताए ।

जिल्ला सदरमुकाम तम्घासबाट विमानस्थल सात किलोमिटरको दूरीमा पर्छ । रासस

बुधबार, मंसिर ६, २०७४ मा प्रकाशित

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*