मतदानको सही तरिका : सात पद सात छाप

३१ वैशाखमा हुन लागेको पहिलो चरणको स्थानीय तह निर्वाचनमा विजयी बन्न उमेदवारहरू मतदाताको घरदैलोमा छन् । सबैजसो उम्मेदवार आफ्ना पार्टीका घोषणापत्रअनुसारको प्रतिबद्धता जनाएर हिँडिरहेका छन् । तर, अधिकांश मतदाता भने निर्वाचनमा कसरी मत दिने भन्नेमै अन्योलमा देखिन्छन् ।

दलहरूले मतदान गर्न सिकाउनेभन्दा एजेन्डामा सहमत गराउन लागिपरेका कारण मतदाताहरू मत कसरी दिने भन्ने अन्योलमा परेका हुन् । दलका सबैजसो नेताले आएर भोट मागे, स्वस्तिक लगाएको चिह्न पनि देखाए । तर, किन सातजनालाई मत हाल्नुपरेको र मन परेको उम्मेदवार कसरी छान्ने भन्ने विषयमा कसैले भनेनन्,’ चन्दागिरी नगरपालिकास्थित संगम टोलकी माया श्रेष्ठको गुनासो छ ।

मतदातामा यस्ता अन्योल देखिएपछि स्वयंसेवकमार्फत ठाउँठाउँमा मतदानको तरिका सिकाउन थालेको आयोगले जनाएको छ । उसले ती स्वयंसेवामार्फत आफ्ना प्रतिनिधि चयन गर्न सात पदका लागि सात ठाउँमा छाप लगाउनुपर्ने सिकाइरहेको छ ।

निर्वाचन आयोगले तयार पारेको मतपत्रमा दलहरूको संख्या धेरै र स्वतन्त्र हैसियतमा दलका तर्फबाट समेत उल्लेखनीय उम्मेदवरी परेपछि मतदाताले यसअघि भएका निर्वाचनमा भन्दा बढी ठाउँमा छाप लगाउनुपर्ने भएको हो ।

आयोगले तयार पारेको मतपत्रअनुसार कुनै एक मतदाताले आफूले चाहेको उम्मेदवारलाई मतदान गर्न एक लहरमा रहेका कुनै एक चिह्नमा मतदान गर्दै सात पदका लागि सातै कोठामा राखिएका चिह्नमा स्वस्तिक छाप लाउनुपर्नेछ । यसरी छाप लगाउँदा एकै पदका लागि मात्र नभई फरकफरक पदमा सात चिह्नमा छाप लाउनुपर्ने र सो मत बदर नहुने निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले बताए ।

‘स्थानीय तह चुनावमा एकजना मतदाताले एउटा मतपत्रभित्रका सात कोठामा रहेका चिह्नमा सातै छाप लाउनुपर्छ, त्यसरी छाप लाउँदा एकै पदमा नभई फरकफरक पदमा लाउँदा त्यो मत सदर मत मानिन्छ ।’ शर्माले राजधानीसँग भने । मतदाताले मतदान गर्दा एक लहरबाट एक चिह्नमा मात्र छाप लाउँदा सहज हुने शर्माले बताए ।

मतपत्रमा सात उम्मेदवारका लागि आठवटा चिह्न भए पनि मतदाताले छाप भने सातवटा मात्र लगाउनुपर्छ । मतपत्रको अन्तिम कोलमभित्र दुईवटा चिह्न देखेर दुई छाप लगाए सो मत बदर हुन्छ

सूर्यप्रसाद शर्मा, प्रवक्ता , निर्वाचन आयोग

 उनका अनुसार एक जना मतदाताले आफूले मतपत्रमा लगाएको छापबाट सातजना प्रतिनिधि छनोट गर्न सक्छन् । यसरी मतदान गर्दा मतदाताले अध्यक्ष वा प्रमुखलाई एक मत दिन पाउँछन् भने उपाध्यक्ष वा उपप्रमुखलाई पनि एक मत नै दिन पाउँछन् ।

यस्तै, वडा अध्यक्षका लागि एक, महिला वडा सदस्यका लागि एक, दलित महिला वडा सदस्यका लागि एक र वडा सदस्य दुईजनाका लागि एकै कोलमभित्र रहेको एउटा चिह्न र अर्का सदस्यका लागि दुईवटा चिह्न रहेको कोठामा मतदान गर्न पाउनेछन् । यसरी मतदान गर्दा कुनै पनि एउटै पदमा नभई फरकफरक पदमा छाप लाउँदा सो मतलाई सदर मत मानिने निर्वाचन आयोगले बताएको छ ।

मतदाताले खुलातर्फका सदस्यलाई मत दिँदा भने विशेष ध्यान दिनुपर्नेछ । किनकि, पहिलो खुला सदस्यका लागि एउटा मात्र चिह्न छ भने दोस्रो उम्मेदवारका लागि दुईवटा चिह्न छन् । चिह्न दुईवटा भए पनि मतदाताले भने एउटा मात्र स्वस्तिक छाप लगाउनुपर्नेछ । दुईवटा चिह्न देखेर स्वस्तिक छाप पनि दुईवटै लगाए सो मत बदर हुने निर्वाचन आयोगले जनाएको छ ।

‘मतपत्रमा सातजना उम्मेदवारका लागि आठवटा चिह्न भए पनि मतदाताले छाप भने सातवटा मात्र लगाउनुपर्छ, अन्तिमका दुई चिह्न देखेर दुई छाप लगाए त्यो मत बदर हुन्छ यसमा विवेक पु¥याउनुपर्छ,’ प्रवक्ता शर्माले भने ।

यसरी मतदान गर्दा वडा सदस्यको हकमा खुलामा दुईजना निर्वाचित हुने हुँदा एक सदस्यलाई सम्बन्धित पार्टीको चुनाव चिह्न हुन्छ भने अर्को सदस्यलाई सम्बन्धित पार्टीको दुईवटा चुनाव चिह्न हुन्छ । दुवै सदस्य एउटै पार्टीको भए पनि सदस्यले भने मेरो चुनाव चिह्न एउटा वा दुईटा भनेर प्रचार गर्नुपर्ने र मतदातासँग मत माग्नुपर्ने हुन्छ । कुनै वडामा दलित महिला नभए त्यो पद नै खाली रहने व्यवस्था छ । त्यसैले, महिलाको हकमा भने दुईवटा चिह्न छैन ।

त्यसबाहेक गाउँपालिका र नगरपालिकामा निर्वाचित सभाबाट निर्वाचित हुने दलित वा अल्पसंख्यक दुईजना निर्वाचित हुने व्यवस्था छ । उनीहरूको हकमा भने मतदाताले मतदान गर्न पाउनेछैनन् । आयोगले मतपत्र तयार गर्दा नै संसद्मा प्रतिनिधित्व गर्ने २७ दलले अघिल्लो चुनावको समानुपातिक मतको दलीय हैसियतका आधारमा चिह्न पाउने व्यवस्था गरेको छ ।

मतदाताले इच्छाअनुसार सबै पदमा एकएकजनालाई मात्र मतदान गर्न पाउँछन् । सात ठाउँमा छाप नलगाएर एउटै पदका लागि दुई ठाउँमा मतदान ग¥यो भने उक्त मत बदर हुन्छ ।त्यसैगरी, मत जाहेर गर्दा कोठाभन्दा बाहिर स्वस्तिक छाप लगाए पनि मत बदर हुने निर्वाचन आयोगले जनाएको छ । आयोगले स्थानीय तह निर्वाचनमा कसरी मतदान गर्ने भन्नेबारे २१ हजार स्वयंसेवकमार्फत एकमहिने निर्वाचन शिक्षा कार्यक्रम चलाइरहेकोे छ ।

९ फागुन २०७३ मा १८ वर्ष पूरा भई मतदाता नामावलीमा नाम दर्ता गराएका मतदाताले मात्रै स्थानीय तह निर्वाचनमा मताधिकारको प्रयोग गर्न पाउने निर्वाचन आयोगले जनाएको छ । स्थानीय तहको निर्वाचनका लागि मतपत्र, मतपेटिका, मतदाता नामावली, स्वस्तिक चिह्न, मसीलगायत ६७ प्रकारको सामग्री आयोगले तयार पारिसकेको छ ।

(काठमाडौं, २५ वैशाख, महेश्वर गौतम / राजधानी )

 

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*