माओवादी मन्त्री आफैं नहटे ‘बिनाविभागीय’

काठमाडौं, २९ असोज ।

प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादी केन्द्रबाट सरकारमा सहभागी मन्त्रीहरूलाई ‘बिनाविभागीय’ मा सार्ने तयारी गरेका छन् । शनिबार शपथ लिएका उपप्रधानमन्त्री कमल थापासहित राप्रपाका मन्त्रीहरूलाई मन्त्रालयको जिम्मेवारी दिन यस्तो तयारी भएको हो ।

संवैधानिक अड्चनका कारण प्रधानमन्त्रीले माओवादी केन्द्रका मन्त्रीलाई सिधै हटाउन मिल्दैन । माओवादी केन्द्रले आफ्नो पार्टीका मन्त्रीहरूलाई एकरदुई दिनभित्रै सरकारबाट फिर्ता नबोलाए उनीहरूलाई बिनाविभागीयमा सारेर उपप्रधानमन्त्री थापासहित राप्रपाका चार मन्त्रीलाई मन्त्रालय तोक्ने तयारी भएको बालुवाटार स्रोतले जनायो ।

‘सकभर माओवादी पार्टीले नै आफ्ना मन्त्रीहरूलाई फिर्ता बोलाओस् भन्ने पक्षमा प्रधानमन्त्री हुनुहुन्छ,’ स्रोतले भन्यो, ‘तर एकरदुई दिनमै नबोलाए बिनाविभागीयमा सारेर थपिएका मन्त्रीलाई जिम्मेवारी दिने मनस्थितिमा पुग्नुभएको छ ।’

माओवादी केन्द्रले भने सरकारलाई दिएको समर्थन र मन्त्री दुवै फिर्ता नलिने निर्णय लिइसकेको छ । अध्यक्ष पुष्पकमल दाहाल निवास लाजिम्पाटमा शनिबार बिहान बसेको पार्टी पदाधिकारी बैठकले यस्तो निर्णय लिएको हो । बैठकलगत्तै दाहाल प्रधानमन्त्री भेट्न बालुवाटार पुगेका थिए ।

भेटवार्तामा प्रधानमन्त्रीले मन्त्री फिर्ता बोलाउन आग्रह गरे भने दाहालले सरकारलाई दिएको समर्थन र आफ्ना मन्त्री फिर्ता नलिने पार्टी निर्णय सुनाए । प्रतिपक्षी पार्टीसँग गठबन्धन गरिसकेपछि नैतिक रूपमा सरकारमा बस्न नमिल्ने देउवाको तर्क थियो । दाहालले भने चुनावी तालमेल एमालेसँग गरे पनि सत्ता गठबन्धनबाट नहट्ने निर्णय भएको अडान लिएका थिए । – कान्तिपुर दैनिकबाट

आइतबार, २९ असोज, २०७४ मा प्रकाशित

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*