विम्ली आफैँ बोली

Exif_JPEG_420

कथा / आन्विका गिरी

‘बुवा ! विम्लीको पेनको निभ भाँचियो !’ मैले भन्दिनुपर्ने ।

‘बुवा ! विम्लीको कापी छैन !’ मैले जानकारी दिनुपर्ने !

‘बुवा ! विम्लीको चप्पल चुँडियो !’ मैले सिफारिस गर्दिनुपर्ने, ‘उसलाई जाली भाको चप्पल चाहियो रे !’

‘बुवा ! विम्ली यसपाली पनि फस्र्ट भई नि !’ मैले सुनाइदिनुपर्ने ।

‘बुवा ! विम्लीलाई पिकनिक जान पचास रुपैयाँ दिनुस् रे !’ मैले मागिदिनुपर्ने ।

‘तँ विम्लीको चम्चा होस्,’ बा मलाई हकार्नुहुन्थ्यो, ‘विम्लीको मुख छैन ?’ अरू बेला बा मलाई कहिल्यै तँ भन्नुहुन्थेन । विम्लीको रिसको झोँक बा ममाथि पनि खन्याउनुहुन्थ्यो ।

विम्लीको मुख किन नहुनु ! तर विम्ली बोल्दिनथी । आमासँग, स्कुलमा साथीहरूसँग बाहेक विम्लीको मुख घरमा खुल्दैनथ्यो । विम्ली मेरी दिदी हो । मभन्दा दुई वर्ष जेठी ! घरमा बुवा र आमाले उसलाई मैले बोल्न सिक्दै गर्दा विम्ली भनेर बोलाएको सुनेपछि मैले पनि उसलाई सधैं विम्ली मात्र भनेँ । खासमा त ऊ विमला हो नि ! तर न बाले न आमाले मलाई ‘विम्ली होइन, विमला दिदी भन्’ भन्नुभएन । विम्ली आफैले पनि भनिन ।

अँ, अनि म विम्लीको चम्चा नै थिएँ । हाम्रा आवश्यकता बालाई नभनी पूरा नहुने अनि बाको सामुन्ने विम्ली बोल्नै नसक्ने ! म सेतुको काम गर्थेँ । सुरुमा त ‘तँ आफै भन्, म भन्दिनँ’ भनेर मैले नभनेको होइन तर ऊ बोल्नै नसक्ने भएपछि मैले भनिदिन थालेँ । कहिलेकाहीँ मेरो काम आमाले पनि गर्नुहुन्थ्यो । खासमा पहिला आमा नै विम्लीका लागि बोल्नुहुन्थ्यो । म अलि टाठो भएपछि आमाको ठाउँ मैले लिएँ ।

विम्लीको कुरा बाले सुन्दै नसुन्ने होइन । विम्लीले जे मागे पनि पाएकै थिई । कापी, किताब, दसैँमा लुगा, जालीवाला चप्पल, पिकनिक जाने पैसा मागेको सबै पाउँथी । उसका माग्ने कुरा पनि धेरै थिएनन् । म झैँ घरमै क्यारामबोर्ड उसलाई चाहिएको थिएन । म झैँ टिकटिके घडी उसले मागेकी थिइन । मलाई झैँ दिनदिनै चकलेट पनि उसलाई खानु परेको थिएन । मेरो झैँ उसको बारबार पेन हराउँदा पनि हराउँदैनथ्यो । म झैँ दसैँमा उसलाई लुगासँगै कालो चश्मा पनि चाहिन्नथ्यो ।

‘बा बाघ हो ?’ म उसलाई जिस्काउँथे, ‘तँलाई खानुहुन्छ ?’

‘अहिले मारिदिन्छु अनि !’ ऊ मलाई लखेट्थी । भेटीहाली भने टाउकोमा हान्थी पनि तर वरपर बालाई देखी भने ऊ दौडेर घरभित्र पस्थी । अनि पढ्न थालीहाल्थी । बा घरमा हुँदा विम्ली कराएर पनि पढ्दैन’थी ।

बा जिल्ला प्रशासन कार्यालयमा सुब्बा हुनुहुन्थ्यो । अलिकति खेत पनि थियो । ‘हामी दुई, हाम्रा दुई,’ बाआमाले यही सोचे क्यारे । हामी दुई सन्तानपछि बाले अपरेसन गराउनुभएको थियो । आमाले भनेर थाहा पाएको !

म पाँचमा र विम्ली सातमा पढ्थी । दसैँको रन्को लागेको थियो । विम्लीलाई पाइन्ट चाहिएको थियो । उसले पाइन्ट लगाएकै थिइन । परारसम्म सधैं जामा लगाउने उसलाई पोहोर कुर्ता सुरुवाल किनिदिनुभएको थियो । विम्लीले पाइन्टको कुरा झिक्दा पनि झिक्दिन थिई होला । मैले नै उसलाई उचालेको हो । बासँग गर्मीको छुट्टी हुँदा बजार गएको बेला विम्लीकै उमेरकी केटीले पाइन्ट ला’को देखेपछि मलाई पनि विम्ली पाइन्टमा कस्ती देखिएली, हेर्न मन लागेको थियो । आफूलाई भए त म उतिखेरै किनाउँथे, विम्लीको लागि भने दसैँ नै कुरेर बस्नुपथ्र्यो । अरू बेला विम्लीलाई लुगा चाहिएकै हुन्थेन । उसैलाई नचाहिएपछि मैले मात्र भनेर के हुन्थ्यो र !

‘विम्ली ! तँ पाइन्ट किन्,’ मैले भनेँ, ‘जिन्सको पाइन्ट र टि–सर्ट तँलाई सुहाउँछ ।’

‘गाउँमा कसैले लाएको छ र पाइन्ट ?’ उसले मन गरिन ।

‘गाउँमा कोही क्लास फस्र्ट भा’को छ ?’ मैले चम्किँदै भनेँ, ‘मेरी दिदी अरूभन्दा त फरक हुनै प¥यो नि !’

‘तैंले बालाई भन्दिन्छेस् त ?’ उसले चासो देखाई ।

बा अफिसबाट आउनुभएकै थिएन । हामी आँगनको झार उखेल्दै थियौँ । हाम्रो स्कुल आँगनको कुनाकानीमा अलिअलि झार उम्रेका थिए । आमाले गोबरले आँगन लिप्नुअघि हामीलाई झार उखेली भ्याउने काम अह्राउनुभएको थियो ।

‘तेरो मुख छैन !’ मेरो पारो तात्यो, ‘कहिले त बोल् विम्ली !’

‘तैंले भन्दिने भए भन्दे, नत्र भयो,’ ऊ पनि ताती, ‘मलाई लाउनु परेको छैन पाइन्ट ।’

बासँग पो विम्लीको बोली फुट्दैनथ्यो, मसँग त सन्की हाल्थी नि !

‘म भन्दिन्छु’, म सेलाएँ, ‘भरे बालाई भन्छु, हामी भोलि नै बजार जानुपर्छ !’

विम्ली आखिर मेरी एउटी मात्र दिदी थिई, कम्ता माया लाग्दैनथ्यो त मलाई उसको । ऊ पनि मलाई खुब माया गर्थी । एकादशी, पूर्णिमामा अनि अरू व्रतमा आमाले टीका लगाएर दिएको पैसा ऊ मसँग बाँड्थी । छोरा भएकाले मैले दसैँमा समेत पैसा पाउन्न थिएँ । बा आफ्नो र आमाको गोडा राखेर ढोग्ने पैसा त मलाई दिनुहुन्थ्यो तर मैले गोडामा राख्ने बित्तिकै आफ्नो खल्तीमा हालिहाल्नुहुन्थ्यो ।

‘छोरालाई के को पैसा !’ बा हात हल्लाउँदै भन्नुहुन्थ्यो ।

‘बालख छ । दिनुस् न !’ आमालाई मेरो माया लाग्थ्यो ।
अनि बा खल्तीबाट निकालेर पैसा दिनुहुन्थ्यो तर आधा मात्र । म कालो अनुहार लाउँथे । हामीलाई टीका लगाएर बा पण्डितकोमा टीका थाप्न जाने बित्तिकै विम्ली मलाई आफूले पाएको पैसाको आधा दि’हाल्थी ।

यति माया गर्ने दिदीका लागि बासँग पाइन्ट त के, म जेको पनि कुरा गर्न सक्थेँ ।

बा साँझमा अफिसबाट आउनुभयो । कोट फुकालेर भित्ताको काँटीमा झुन्ड्याउनुभयो । लुगा फेर्नु भो । हाफ पाइन्ट र सेन्डो गन्जी । कल जानुभयो, हातगोडा मुख धोएर आउनुभयो । दलानको कुर्सीमा बस्नुभो । यतिखेरसम्म आमाले बा’का लागि कागती पानी र तौलिया ल्याउनुभयो । मुख पुछिसकेपछि बाले कागती पानी एकै घुट्कोमा स्वाट्ट पार्नुभो । अनि मलाई बोलाउनुभयो । गर्मीमा बाले अफिसबाट फर्केपछि गर्ने नियमित काम यही हो । जाडोमा बा कोठामै बस्नुहुन्थ्यो, कागती पानीको सट्टा चिया पिउनुहुन्थ्यो । हाफ पाइन्ट र गन्जीको सट्टा ट्राउजर र भेस्टमाथि स्वेटर लाउनुहुन्थ्यो तर मलाई बोलाएर स्कुलमा आज के पढाइ भो भनेर सोध्ने काम चाहिँ जुनसुकै मौसममा पनि चल्थ्यो । स्कुल नभएको दिन ‘घरमा के गरिस् त’ भनेर सोध्नुहुन्थ्यो । शनिबार त म बासँगै कहिले कसकोमा त कहिले कसकोमा जान्थेँ । घरमै भए टिभी हेर्थेँ, बा मलाई देश दुनियाँका समाचार बुझाउने कोसिस गर्नुहुन्थ्यो । बा घरमा हुँदा कोही न कोही आइराख्थ्यो । कहिले बाका अफिसका साथी त कहिले गाउँका मान्छेहरू । नयाँ मान्छे आए भने बा मलाई उनीहरूसँग चिनाउनुहुन्थ्यो । चिनेका मान्छे आए मेरो पाठ्यक्रमकै कविता सुनाउन लाउनुहुन्थ्यो । बाले विम्लीलाई कहिल्यै कसैसँग चिनाउनु भएन । बाले विम्लीलाई कतै लिएर पनि जानुहुन्नथ्यो ।

‘बा ! विम्ली पनि बजार जान्छे रे !’ एकचोटि मैले भनेको पनि थिएँ ।

‘पर्दैन !’ बाले भन्नुभयो । बाको आवाज विम्लीले पनि सुनेकी थिई । त्यसपछि विम्लीले कहिल्यै बजार जाने कुरा गरिन । आमाले लान खोज्दा पनि विम्ली जान्नथी ।

बा हरेक वर्ष हाम्रो रिजल्ट भएपछि कुन विषयमा कति नम्बर आयो भनेर लिन आउनुहुन्थ्यो । तर बाको खल्तीमा आमाले लुगा धुँदा विम्लीको कुन विषयमा कति नम्बर आयो भनेर लेखेर ल्याएको चिट भेट्नु भएन । मेरो मात्र भेट्नुहुन्थ्यो र मलाई राख् भनेर दिनुहुन्थ्यो । मेरो पनि पढाइ अगतिलो थिएन । टप फाइभमा त परेकै हुन्थेँ ।
त्यो साँझ बाले कागती पानी घुट्याइसकेपछि मलाई बोलाउनुभयो ।

‘कति काम ग¥यौ त आज तिमीले ?’ बाले सोध्नुभयो ।

‘आधा त सकियो,’ मैले आँगनमा झार उखेलिसकेपट्टि देखाएर भनेँ ।
बा मुस्काउनु भयो ।

‘बा ! विम्लीलाई यसपाली दसैँमा जिन्सको पाइन्ट र भेस्ट किन्दिनु रे,’ मैले आफ्नो चाहलाई विम्लीको बोली बनाउन रे थपेर भनेँ ।
बाको अनुहारको मुस्कान गयो ।

‘पर्दैन !’ बाले यत्ति भन्नुभो । बाले जुन कुरा विम्लीका लागि ‘पर्दैन’ भन्नुहुन्थ्यो, त्यो कुरा उसले कसै गरे पनि पाउँदिनथी । मैले जति नै भने पनि विम्लीका लागि जिन्स पाइन्ट आएन । आकासे रंगको कुर्ता–सुरुवालको कपडा बा आफैले ल्याइदिनुभयो । विम्लीको पोहोरकै कुर्ता लिएर आमाले बजारबाट सिलाएर ल्याइदिनुभो । विम्ली जान मानिन । पेट दुख्यो भनी ।

‘तैंले बेकारमा भनिस्,’ विम्लीले मलाई स्कुल लागेपछि एकदिन स्कुल जाँदा बाटामा भनी ।

‘के ?’ मैले त बिर्सिसकेको थिएँ ।

‘बासँग पाइन्टको कुरा !’ उसले सम्झिरा’की रहिछे ।

‘मलाई कमाउन दे !’ मैले आँखा चम्काउँदै भनेँ, ‘जिन्सका पाइन्ट त बोराका बोरा ल्याइदिन्छु !’

विम्ली पेट मिचीमिची हाँसी । विम्ली घरमा त्यसरी कहिल्यै हाँस्दिनथी । हाँस्दा विम्लीका आँखा उजेला देखिन्थे । मलाई आफ्नी दिदीका उजेला आँखाहरू मनपर्थे ।

हाम्री एकजना फुपु पनि हुनुहन्थ्यो । फुपुको जिम्मा बाको काँधमा राखेर हजुरबुवा हजुरआमा परलोक पुगिसक्नुभएको थियो । तर बालाई छाडेर गएका जिम्मेवारी फुपु आफैले बिहे गरेर आफै पूरा गर्नुभएको थियो । फुपाजु दनुवार हुनुहुन्थ्यो । दनुवारको पानी चल्दैन भनेर बाले फुपुलाई फिर्ता ल्याउनुभयो । पुलिस, प्रशासन लगाएर बाले कमला फुपुलाई घरमा त ल्याउनुभयो तर फुपुलाई जीवित चाहिँ राख्न सक्नुभएन । आफ्नै सलको पासो लगाएर फुपु माथिको कोठामा झुण्डिनुभएको थियो रे ! फुपु नझुण्डिउन्जेलसम्म त हाम्रो दुई तलाकै घर थियो रे ! पछि बाले एकतले, त्यो पनि होचो, घर बनाउनुभएको रे ! फुपु झुण्डेकै वर्ष विम्ली जन्मिएकी रे !
यी कुराहरू खासमा आमा विम्लीसँग बा घरमा नभएका बेला भान्छामा काम गर्दै गर्नुहुन्थ्यो । म घरी चिनी त घरी अलिकति मह माग्न जाँदा सुन्थेँ ।

‘हाम्री फुपु कस्ती हुनुहुन्थ्यो आमा ?’, एकदिन विम्ली सोध्दै थिई ।

‘आमा ! चिनी’ भन्दै म पुगेँ । आमा चुप लाग्नुभो । विम्लीले पनि केही सोधिन । चिनी लिएर म बाहिरिँदा विम्ली पनि बाल्टिन बोकेर पानी लिन बाहिर आई ।

‘फुपु कस्ती हुनुहुन्थ्यो भन्नुभयो त तँलाई आमाले ?’, मैले पछि विम्लीलाई सोधेको थिएँ ।

‘तँ खुब कान थापीथापी कुरा सुन्छस् है !’ विम्लीले मलाई हकारी । बासँग फुपुको कुरा सोध्ने आँट ममा कहिल्यै आएन । पछिपछि आमाले विम्लीसँग फुपुको कुरा गरेको पनि सुनिन । बा तिहारमा टाढाकी नातेदारसँग टीका लगाउन जानुहुन्थ्यो ।

खासमा बा आमासँग र विम्लीसँग एकदमै कम बोल्नुहुन्थ्यो ।

‘विम्ली ! पानी ल्या ।’ बाले धेरैजसो भन्ने यही नै थियो ।

‘राधा खाना पस्क !’ आमासँग पनि बाको यस्तै–उस्तै गफ मात्र म सुन्थेँ ।

म बासँग सुत्थेँ, विम्ली आमासँग । आमा पनि बासँग कमै बोल्नुहुन्थ्यो । मैले चाहिँ बालाई जे भन्ने पनि छुट पाएको थिएँ तर आफ्नो कुरा छाडेर विम्लीको कुरा गरे वा

आमाकै लागि केही कुरा गरेँ भने बाको अनुहार कालो भइहाल्थ्यो ।

बाले त्यसपछि कि ‘जाउ पढ’ कि ‘जाउ खेल’ कि ‘टिभी हेर’ कि ‘जाउ सुत’ भन्नुहुन्थ्यो ।

विम्लीले एसएलसी फस्र्ट डिभिजनमा पास गरी । स्कुलकै इतिहासमा विम्ली पहिलो केटी भई जसले फस्र्ट डिभिजन ल्याएकी थिई । विम्ली सबकी हाइहाइ भई । बा अफिसबाट फर्केको साँझ गाउँ हाम्रै घरमा थियो भन्दा पनि हुन्छ । सबले बालाई बधाई दिइरहेका थिए । बा बल गरेर मुस्कुराउँदै हुनुहुन्थ्यो । आमाको ज्यानमा भने खुब पूmर्ति थियो । आउने जति सबलाई सर्बत पानी खुवाइराख्नु भा’कोथ्यो । मेरो त झन् खुट्टा भुइँमा थिएन ।

‘विम्ली ! अब तँ के पढ्छस् ?’ मैले चम्किँदै सोधँे ।

‘बाले के भन्नुहुन्छ ?’ उसले फिस्स गर्दै भनी, ‘त्यही !’

‘तेरो मनमा के छ, त्यो त भन् !’

‘केही छैन,’ उसले भनी, ‘मेरो मनमा त त्यही नै आउँछ जुन बाको मनमा आउँछ ।’

‘त्यस्तो पनि हुन सक्छ र !’ मैले अचम्म मान्दै सोधेँ ।

‘हुन्छ नि !’ उसले यत्ति मात्र भनी ।

तर मलाई सधैँ अचम्म लागिरह्यो कसरी विम्लीको मनमा बाको मनमा जे कुरा आउँछ, त्यही आउँथ्यो भनेर । मेरो मनमा त कहिल्यै आएन । बाले मेरा लागि कालो भेस्ट छान्दा म हरियो छान्थेँ । बाले मेरा लागि निलो पेन दिँदा मलाई कालो चाहिन्थ्यो । बाले मलाई सादा जिस्ता दिँदा मलाई डाडी भाकै जिस्ता चाहिन्थ्यो । विम्लीको कुराले मेरो दिमाग रन्थन्यायो ।

‘तैंले गफ दिइस्,’ मैले भनेँ पनि ।

उसले केही भनिन्, मुस्कुराएर टारी ।

बाले उसका लागि नर्सिङ पढाउने निर्णय गर्नुभो । विम्ली पढ्नका लागि धरान जाने भई । विम्लीलाई गाडी चढाउन आमा र म गएका थियौँ । विम्ली गाडी चढ्ने बेलामा मैले विम्लीलाई एउटा प्लास्टिकको पहेँलो झोला दिएँ ।

‘के हो ?’ उसले नहेरी सोधी ।

‘अहिले एउटा किन्ने पैसा मात्र जम्मा पार्न सकेँ । बोराका बोरा चाहिँ कमाएरै दिउँला !’ मैले ङिँच्च गर्दै भनेँ, ‘त्यही हो क्या, जिन्सको पाइन्ट !’

विम्ली त ठाउँको ठाउँ जमे जस्तो भई । गाडीवालाले उसको झिटीगुन्टा गाडीमा हालिसकेको थियो । ऊ भने हलचल गर्दिन ।

‘विम्ली ! गाडी चढ,’ आमाले उसलाई झकझकाउनुभयो ।

‘अँ !’ उसको मुखबाट यत्ति मात्र निस्कियो ।

विम्ली यति अवाक भई कि ‘बाइ’ पनि नभनी गई ।

पछि दसैँको छुट्टीमा आउँदा विम्लीलाई सोधेको थिएँ, ‘पाइन्ट लाइस् ?’

ऊ मन्द मुस्काई, ‘बजार जाँदा दुई चोटि लाएँ ।’

‘मन प¥यो ?’ मैले आँखीभौं उचालेर सोधेँ ।

‘अत्ति !’ उसको अनुहार चम्कियो ।

विम्ली नर्सिङ अन्तिम वर्षमा हुँदा म पनि एसएलसी पास भएँ । मेरो पहिलेदेखिको रहर काठमाडौं पढ्ने थियो । मलाई लागेको थियो, बाको मनमा पनि मेरा लागि केही होला ।

‘बा ! म के पढुँ ?’ रिजल्ट आएको रात मैले सोधेँ ।

‘कस्तो लठुवा भाको तिमी ?’ बाले हाँसेर भन्नुभो, ‘आफ्नो लागि सोच्नु पर्दैन ?’

‘विम्लीका लागि तपाईंले सोचेर राख्नुभएको थियो,’ मैले वाल्ल परेर भनेँ, ‘मेरा लागि पनि होला भनेर म त ढुक्क थिएँ !’

बाले विम्लीको कुरा गरेपछि एकछिन केही भन्नुभएन । अनि पछि बाउछोरा मिलेर काठमाडौंमा बाको साथीको छोरा पढेको प्लस टुमा साइन्स पढ्ने तय भयो ।

‘विम्ली ! म त काठमाडौं जाने भएँ नि !’ मैले विम्लीलाई धरानै गएर सुनाएँ ।

‘गज्जब !’ ऊ खुसी भई ।

‘तर अब तँलाई केही चाहियो भने बालाई कसले भनिदिन्छ ?’ मेरो चिन्ता पोखेँ, ‘विम्ली तँ बोल् न हौ !’

‘अब म कमाउन थालिहाल्छु,’ उसले भनी, ‘खासै अब बासँग केही माग्नु पर्दैन । तँ नभए आमा जिन्दाबाद नि !’

‘है !’, म हाँसे, ‘तँ जसरी नि काम चलाइहाल्छेस् नि !’

‘बिमल ! एउटा कुरा भन्नु छ तँलाई ।’ ऊ अलि गम्भीर भई ।

‘तेरो लभ प¥यो ?’ म चाहिँ जिस्किरहेकै थिएँ ।

‘अँ ।’ ऊ तर्सिई, ‘कसरी थाहा पाइस् ?’

मैले कहाँ थाहा पाउनु ! म त खाली उसलाई जिस्काउन चाहन्थेँ । खासमा मलाई त शंकासम्म नि लागेको थिएन । मलाई त लागेको थियो, बिएन गर्न ऊ पनि काठमाडौं जान चाहन्छे । त्यही कुरा बालाई मैले भन्दिन्थेँ कि भन्ने उसको कुरा होला जस्तो लागेको थियो ।

मेरो हुनेवाला भिनाजु धरानकै राई रै’छन् । उनका बाले ब्रिटिश लाहुरेमा पठाउन खोज्दा घरै छाडेर दिदीकै कलेज छेउ डेरा गरेर बसेका रै’छन् । धरानकै सरकारी कलेजमा बी.कम. गर्दै र’छन् । कलेज आउँदा जाँदा दिदीसँग कुरा भएछ । दिदीले आफ्नो मन दिएर उनको पनि मन लि’छ ।

‘भेट्छस् ?’ उसले सोधी ।

नभेट्ने त कुरै थिएन ।

धरानको तरकारी बजारभित्रको मोमो पसलमा हाम्रो भेट भयो । थेप्चो नाक, चिम्सा आँखा, गोरो छाला, सिलिक्क परेको कपाल र ठिकैको उचाइ । उनलाई मैले आँखा जुधाएर हेर्न सकिन । उनको नजर विम्लीतिर भाको बेला उनलाई चोर आँखाले हेरेँ । निलो चेक भा’को उनको सर्टको खल्तीमा स्टारलाइन डटपेन थियो । खैरो पाइन्ट र फिस चप्पल लगाएका थिए । उनको हातमा एउटा घडी थियो । उनले मेरो पढाइको कुरा सोधे । ‘राम्रो पढ्नु है’ भने । मैले खासै केही सोधिन ।

‘बाले ज्यान गए नि मान्नुहुन्न !’ मेरो मनमा त यही मात्र थियो ।

उनी छुटेपछि विम्लीले सोधी, ‘कस्तो लाग्यो ?’

‘तँलाई मन परेपछि मलाई मन पर्दैन त !’ मैले उसलाई फुक्र्याएँ ।

नर्सिङ सकेर धरानकै हस्पिटलमा विम्लीले जागिर पाएपछि घरमा उसको बिहेको कुरा सुरु भयो । बाले मलाई काठमाडौंमा फोन गरेर विभिन्न केटाको कुरा सुनाइराख्नुभयो । म भने ‘राईजीको खबर के छ ?’ भनेर विम्लीलाई जिस्काइरहेको थिएँ ।

‘तँ आइज, एउटा सरकारी वकिल छ । विम्लीको लागि ठीक छ,’ बाले फोन गर्नुभयो ।

‘बा विम्ली के भन्छे ?’ मैले सोधेँ ।

‘पहिला तँ आइज । हेर’, बाले भन्नुभयो, ‘अनि मात्र विम्लीलाई देखाउँला ।’

‘विम्लीलाई सोध्नुभो त !’

‘मैले भनेँ नि, विम्लीको लागि ठीक छ !’ बाले कुरा टुंग्याउनुभो, ‘तँ आइज !’

म गइन । कलेजमा इन्टरनल एक्जाम भइरहेकाले म आउन सक्दिन भनेर बाको कुरा टारिदिएँ । तर म सीधै धरान हान्निएँ र विम्लीलाई सबै कुरा भन्दिएँ । ‘मंगलले जागिर पाएकै छैनन्,’ उसले भनी, ‘एक वर्ष त बिहे गर्ने विचार छैन ।’

‘तेरो बिहे मंगलसँग हैन हौ,’ उसलाई बुझाएँ, ‘सरकारी वकिलसँग गर्दिने रे ! बुझिनस् कुरा ?’

‘बुझे हौ !’ उसले भनी, ‘बालाई भन्दे न, विम्ली एक वर्ष विहे गर्दिन भनेर !’

मैले सधै विम्लीको कुरा बासम्म पु¥याएकै हो । यो कुरा पु¥याउन पनि मलाई गाह्रो थिएन । फेरि मेरो उमेर बढ्दै जाँदा बा मेरो कुरा अलि बढी सुन्न थाल्नुभएको थियो । मलाई थाहा थियो, यसपाली पनि बाले मेरो कुरा सुन्नुहुन्थ्यो । तर मलाई यसपटक विम्ली र बाबीचको सेतु बन्न मन लागेन ।

‘तँ आफै भन्’, मैले झर्केरै भनँे, ‘मैले तेरो ऋण खाएको छु, सधैँ सधैँ भन्दिनलाई !’

‘एक चोटिलाई त भन्दे !’ उसले विन्ती गरी ।

‘लास्ट !’ मैले बाचा बधाएँ ।

‘लास्ट,’ उसले बाचा बाँधी ।
बालाई विम्लीले भर्खर काम सुरु गरेकी छे, एक वर्ष काम गर्छु भन्दै छे भनेर काठमाडौं पुगेपछि फोन गरेर भनेँ ।
‘बिहे पछि पनि काम गर्न दिन्छु भनेका छन्,’ बाले मान्नुभएको थिएन ।
‘एक वर्ष कुरून् न त उसो भए,’ मैले नि भनिदिएँ, ‘विम्ली नै चाहिएको भए !’
अनि बा चुप लाग्नुभयो । म बीचबीचमा विम्लीलाई फोन गरेर राईजीको कुरा बालाई भन् भनेर भनिरहेको थिएँ । ऊ ‘भन्छु, भन्छु’ भनिरहेकी थिई ।

बाले ट्याक्कै एक वर्ष कुर्नुभो । मेरो बाह्रको जाँच सकेर घर आ’को बेला बाले फेरि विम्लीको बिहेको कुरा गर्नुभो ।

‘त्यही वकिल ?’ मैले सोधेँ ।

‘हैन,’ बाले भन्नुभयो, ‘विद्युत प्राधिकरणमा अधिकृत छ ।’

धरान गएर मैले विम्लीलाई लिएर आएँ । विम्ली काँपिरहेकी थिई । बाचा बँधाएकाले मात्रै उसले मलाई केही भन्न सकेकी थिइन । बाको कोठामा मैले उसलाई नधकेलुन्जेल ऊ औंला पड्काएर बसी । मलाई हेर्छे, उसका आँखा कम्ता मायालाग्दा भएका थिएनन् । तर म पग्लिइन ।

‘बालाई तपाईंसित विम्लीको कुरा गर्नु छ रे,’ यति त भन्न लगाइकन छाडी ।

बा टिभी हेर्दै हुनुहुन्थ्यो । बाले जवाफमा के भन्नुभो, सुन्दै नसुनी म विम्लीको कोठामा आइहालेँ ।

‘जा अब !’, मैले उसलाई बाको कोठासम्मै पुग्ने गरी धकेलेँ ।

विम्ली कोठामा पस्दा पनि बा टिभी नै हेर्दै हुनुहुन्थ्यो । म ढोकाको छेउमै बाले नदेखिने गरी छलिएर बसेँ । आमा भान्छामा हुनुहुन्थ्यो । भान्सा तयार भो भनेर बालाई सुनाउन आउँदा मलाई त्यसरी उभिएको देखेर आमा छक्क पर्नुभो । केही भन्न मुख खोल्न लाग्दै हुनुहुन्थ्यो, मैले हतारहतार आफ्नो मुखमा चोर औंला लगेर उहाँलाई चुप लाग्ने इसारा गरेँ ।

‘बा !’ विम्लीले सुस्त स्वरमा भनेको सुनेँ ।

‘अँ, भन्,’ बाको स्वर पनि सुनेँ । सायद बाले विम्लीको अनुहारतिर पनि हेर्नु भएन । टिभीमा समाचार आइरहेकाले बालाई केही छुट्ला कि भन्ने थियो ।

विम्लीको आवाज आउँदैन त ! नेपाल टेलिभिजनमा समिता राणाको आवाज नै आइरहेको थियो ।

विम्ली पक्कै हात मोलेर बसिरहेकी होली भन्ने लाग्यो । आमा मतिर हेरेर आँखीभौँ सन्काएर इसारामै ‘के भो ?’ भन्नुहुन्छ । म भने उहाँलाई चुप लाग्ने इसारा नै गरिहरेको छु । एक छिनसम्म पनि विम्ली नबोल्दा आफ्नो मुटु उफ्रेर बाहिर नै आउला जस्तो भा’कोथ्यो । वाचा गयो भाँडमा भनेर भित्र छिरेर सबै कुरा आफै भन्दिउँ जस्तो पनि लागेको थियो । तर गइन । दिक्क लाग्यो र भुइँमा थुचुक्क बसेँ ।

‘बा ! टिभी बन्द गर्नुस् न,’ विम्लीको आवाजले म जुरुक्कै उठेँ ।

‘के हो भन्,’ बाले किन टिभी बन्द गर्नुहुन्थ्यो ।

‘बा ! मेरो कुरा सुन्न तपाईंले मतिर हेर्नु पनि पर्छ,’ विम्लीको चर्को स्वर सुनेर आमाका आँखा पनि तन्किए ।

बा’का पनि आँखा तन्किए जस्ता छन् । टिभी बन्द भो ।

‘बा ! तपाईंलाई थाहा छ, मलाई के खान मनपर्छ ?’ विम्लीले सोधी ।

के सोधेकी विम्लीले ? म भननन भएँ । बाको कुनै उत्तर आएन ।

‘बा ! मलाई हाजमोला क्यान्डी मन पर्दैन । मलाई त अरेन्ज बल मन पथ्र्यो,’ विम्ली बोल्दै गई, ‘तर बिमललाई हाजमोला क्यान्डी मनपर्छ भनेर तपाईंले क्यान्डी ल्याइदिनुहुन्थ्यो । मैले त्यही मन पराउन सिकेँ !’

बा’को आवाज अझै आएन ।

‘बा ! मेरो मनपर्ने रंग रातो हो,’ उसले भनी, ‘तर तपाईंले मलाई कहिले आकासे, कहिले खैरो, कहिले कालो लुगा ल्याइदिनुभो । मैले त्यो पनि मन पराएँ ।’

‘बा ! मलाई पनि स्कुलमा पाएका स्याब्बासीहरू सुनाउन मन थियो तर तपाईंले सोध्नुभएन । बा ! तपाईंको सर्टको खल्तीमा आमाले कहिल्यै मेरो जाँचको नम्बर टिपेको चिट फेला पार्नुभएन । बा ! तपाईंले मलाई विमलाबाट विम्ली बनाउनुभयो, मैले केही भनिन,’ विम्लीको स्वर शान्त थियो ।

अघिसम्म उफ्रिएको मेरो मुटु शान्त भयो । आमाका आँखा पनि पहिलेकै साइजमा आए ।

‘बा ! तपाईंले मलाई कहिल्यै केही सोध्नुभएन । तपाईंले जे भन्नुभयो, मैले खुरुखुरु गरेँ । बिमलले जे जे कुरा तपाईंसम्म ल्यायो, तपाईंले त्यसमा कुनैलाई हुन्छ भन्नुभयो, कुनैलाई हुन्न । मैले यो किन हुन्न बा भनेर कहिल्यै सोधिनँ !’ विम्ली बोलिरहेकी थिई ।

‘त के भयो ?’ बा चुप लागेर बसिरहन सक्नभएन ।

‘बा ! तपाईंले सोध्नुहुन्न भन्ने मलाई थाहा छ तर म तपाईंलाई थाहा दिन चाहन्छु । मैले आफ्नो लागि आफै जीवनसाथी रोजेकी छु । राई हो । आफ्नो खुट्टामा उभिएको छ । मेरो ऊसँग सबथोक मिल्छ,’ विम्लीले दह्रो भएर भनी, ‘बा अब बिमललाई कति दुख दिउँ ! त्यसैले आफै भनेको ! अनि फेरि, बा ! अब तपाईंलाई मन परेको कुरा मैले मन पराउनलाई मसँग न त ताकत छ, न मन नै छ ।’

मलाई त लागेको थियो, बाले विम्लीको गाला चड्काउनु होला । तर त्यस्तो आवाज आएन । विम्ली त्यति भनेर बाहिर आई । सबै कुरा सुनिसकेकाले बाले के भन्नुभयो मैले सोधिन । आमाले खाना पस्कनुभयो । बाले आफ्नै कोठामा खानुभयो । म, विम्ली र आमाले भान्छामै खायौं ।

बिहान बा दलानको कुर्सीमा बस्नुभयो । आमाले छेउमा चिया राखिदिनुभएको थियो ।

‘बा ! आज केटाहरू विम्लीलाई हेर्न आउने भनेको होइन ?’ मैले बालाई सोधेँ । बालाई विम्लीको कुराले असर गरेजस्तो लागेन । त्यसैले आफैले दबाब दिने विचार गरेको थिएँ ।

‘दिदी हो तिम्रो,’ बाले हप्काउनुभयो, ‘विमला दिदी भन ।’

अनि बा चिया पिउन थाल्नुभयो ।
०००
(आन्विका गिरी, सुनसरीको मधेसा गाविस–८ मा २३ जनवरी १९८६ मा जन्मेकी हुन् । उनका ‘कम्युनिस्ट’ (कथा संग्रह), ‘हाम्रा कुरा पनि सुन्नुहोस्’ (बालकथा संग्रह), ‘मान्छेको रंग’ (उपन्यास) र ‘कमरेडहरूसँग’ (अरुन्धती रोयको लामो अंग्रेजी निबन्ध ‘वाकिङ विथ कमरेड्स’ को नेपाली अनुवाद) आदि कृति प्रकाशित छन् । विभिन्न पत्रपत्रिका, रेडियो र अन्य संस्थामा कार्यानुभव सँगालेकी उनलाई कथा साहित्यमा साझा प्रकाशनबाट ‘गरिमा साहित्य सम्मान २०६८’ प्राप्त छ ।)

(स्रोत : अस्मिता सम्पूर्णाङ्क   ७३, असोज-कार्तिक, २०७२)

जेठ १५, २०७४ मा प्रकाशित ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*